बागलुङ । मानवसेवा आश्रम बागलुङको नवनिर्मित भवन निर्माणको लागि व्यवसायी उज्वल खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका-३ गुठी जन्म घर भई हाल अमेरिका बसोबास गर्नु हुने खड्काले आश्रममा भवनको एक कोठा निर्माणको लागि लाग्ने रकम मानवसेवा आश्रम श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीलाई प्रदान गर्नु भएको हो ।
भवन निर्माणका लागि आयोजना हुने महायज्ञ सुरु नहुँदै उत्साहजनक रुपमा आर्थिक सहयोग जुट्न शुरु भएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।
स्थानीय पालिका, संघसंस्था, जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, विद्यार्थी, उद्योगी, व्यवसायी, भूपुसैनिक, शिक्षक, कर्मचारी र जनसमुदायले शुक्रबारसम्म ४० लाख सहयोग गरेको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले नयाँविश्वलाई बताउनुभयो ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
















































































































































































