बागलुङ । समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ तथा विद्यामन्दिर पुस्तकालय, बागलुङका पूर्वअध्यक्ष टोपबहादुर विजुक्छेको निधनमा शनिबार बागलुङमा स्मृति सभाको आयोजना गरिएको छ ।
उहाँको निधनको १५औँ दिनको पुण्यतिथि पारेर विद्यामन्दिर पुस्तकालयले आयोजना गरेको स्मृति सभाका वक्ताहरुले विजुक्छेले सामाजिक, शैक्षिक, राजनैतिक र विकास निर्माणमा बीस र तीसको दशकमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए ।
बागलुङको धौलागिरि वीरेन्द्र मावि, विद्यामन्दिर पुस्तकालय, धौलागिरि बहुमुखी क्याम्पस, सार्वजनिक धारा निर्माणमा नेतृत्व गर्नुका साथै विसं २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिनुभएका विजुक्छे अन्याय र अत्याचारको विरुद्ध सशक्त आवाज उठाउने जिउँदो नेता भएको वक्ताहरुले बताए ।
विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले विजुक्क्छेलाई हक्की स्वभावका हुनुका साथै दुःखी गरिब र पीडितको पक्षमा आवाज उठाउने व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो । स्थानीय प्रशासनलाईसमेत खबरदारी गर्न सक्ने क्षमता उहाँमा रहेको राजभण्डारीले बताउनुभयो ।
स्मृति सभामा विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष तथा कार्यवाहक मुख्य संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक समितिका सदस्य हरिहर श्रेष्ठ, प्रेम छोटा, नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, बागलुङ नगरपालिकाका पूर्वमेयर जनकराज पौडेल, नेकपा एमालेका नेतृ मना केसी र नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्वसभापति विश्वनाथ रेग्मीले विजुक्छेको व्यक्तित्व र योगदानमाथि चर्चा गर्नुभएको थियो ।
विजुक्छेको ९३ वर्षको उमेरमा यही कात्तिक १ गते काठमाडौँको कालिमाटीस्थित निवासमा देहावसान भएको थियो । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र सदस्य गोविन्दप्रसाद वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।
को हुन् टोपबहादुर विजुक्छे ?
टोपबहादुर विजुक्छेको जन्म विसं १९९० साउन १२ गते बागलुङ बजारको नौबिसे टोलमा बुबा देवीबहादुर विजुक्छे र आमा भुवन माया विजुक्छेको कोखबाट भएको थियो । उहाँका दाजु दाजु तुलसीबहादुर विजुक्छे र भाइहरु वैकुण्ठ विजुक्छे र राघेश्याम कमारो हुनुहुन्छ । उहाँका छोराहरु केदार, केशव र कुमुद र शैब्या प्रधान, मन्धरी मूल र शर्मिला श्रेष्ठ हुनुहुन्छ । विसं १९९५ सालतिर भाषा पाठशालामा खरीले पाटीमा लेखेर अक्षरारम्भ हुन्थ्यो ।
प्युठानबाट कुलप्रसाद कौ विसं १९९७ सालमा राधाकृष्ण मन्दिरको पौवामा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले सञ्चालनमा ल्याउनु भएको विद्यान्दिर भाषा पाठशालाको ३७ जना विद्यार्थी मध्ये टोपबहादुर पहिलो पुस्ताका विद्यार्थी हुनुहुन्थ्यो । त्यसबेला नेपाली, हिन्दी, उर्दू र अग्रेजी भाषामा अध्यापन हुन्थ्यो ।
विसं १९९९ सालमा रातिराति लालटिन बालेर पढ्ने वाचनालय सञ्चालन गरिएको थियो। पछि भवन बनेपछि विद्यालयको तल्लो तलामा पुस्तकालय पनि सुरु भएको थियो । घरेलु उद्योग विद्यामन्दिर स्कुलमा एकातिर संगीतालय र एर्को तिर पुस्तकालय थियो । विद्यामन्दिर हाई स्कुलमा विदा भएपछि दिउँसो ३ बजेदेखि ५ बजेसम्म खुल्ने गथ्र्र्यो ।
विसं विसं २०१४ बागलुङ बजारमा भद्र अवज्ञा आन्दोलनमा ओमप्रसाद गौचन, टोपबहादुर विजुक्छे लगाएतका युवाहरुले भाग लिएका थिए । विसं २०२१ मकरबहादुर वान्तवा अञ्चलाधीश हुँदा उहाँको नेतृत्वमा बागलुङ बजारमा सार्वजनिक धारा निर्माण गर्नु भयो र बानपा ३ हाडेपाखामा सार्वजनिक खानेपानीको पहिलो ट्याक्की गर्नु भयो । यो समितिको सचिवमा टोपबहादुर विजुक्छे हुनुहुन्थ्यो । त्यति बेला कम्पुटोल, नारायण चोक, बुद्ध चोक , माझकोट, राधाकृष्ण टोल, शिवधारा चोक, विद्यामन्दिर मावि लगाएत १३ वटा स्थानमा सार्वजनिक धाराहरु स्थापना गरिएको थियो । सार्वजनिक खानेपानी निर्माण त्यस बेलाको नमुना योग्य विकास थियो । त्यस बेला टाढा टाढासम्म हिँडेर पानी बोकेर ल्याउनु पर्ने बाध्यता थियो ।
विजुक्छे २०२५ सालमा कालिका आदर्श गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च हुनुहुन्थ्यो र सचिव श्रीप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । विसं २०२१ साल प्रधानपञ्च हिराबहादुर खड्का खुलेको अनिर्वाय निशुल्क पाठशाला सञ्चालन आएको थियो तर त्यो केहि समयपछि बन्द भएको थियो । त्यति बेला गोकर्ण बाँस्कोटा, हरिहर श्रेष्ठ हडेमास्टर भएका थिए । विसं २०२५÷०२६ सालमा उहाँको कार्यकालमा बागलुङ बजारको पाँच स्थानमा अनिर्वायन निशुल्क पाठशाला सञ्चालनमा ल्याउनु भएको थियो । उक्त पाँच विद्यालयको पुष्पमान श्रेष्ठ मुख्य हडेमास्टर हुनु हुन्थ्यो ।
चेमली शाक्य कालिका कन्यामन्दिर माविको हेडमास्टर, गणेश कुमार श्रेष्ठ बालमन्दिर स्कुलको हेडमास्टर, रुद्रेपिपल माविको परशुराम श्रेष्ठ हेडमास्टर, उपल्लाचौरको स्कुलको गणेश कुमार श्रेष्ठ बाङगे गुरु हेडमास्टर भएका थिए । पहिलो तलब ८५ रुपैयाँ थियो । कालिका आदर्श गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च नै घरेलु उद्योग विद्यामन्दिर पुस्तकालय २००३ को स्वत अध्यक्ष हुने कानुनी व्यवस्था थियो । विसं २०२० सालमा धवलागिरि अञ्चल पञ्चायत शिक्षा कार्यालयले दिइएको स्वीकृत पत्रमा विद्यामन्दिर पुस्तकालय उल्लेख गरिएको छ ।
विसं २०२७ सालदेखि २०२९ सालसम्म पुस्तकालयको अध्यक्षको रुपमा नेतृत्व गरेर पुस्तकालयको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँको नेतृत्वमा २०२८ साल मंसिर १ गते विद्यामन्दिर पुस्तकालयलाई विद्यामन्दिर माध्यमिक विद्यालयबाट शिवधारा चोकमा रहेको मुस्ताङ जाने तिर्थयात्री बस्ने ठाँटी पौवामा सार्नु भएको थियो । यो ठाउँमा घरेलु उद्योग केन्द्र बागलुङको कागज शाखा सरेर खाली भएको थियो । यो जग्गा पौवाको जग्गा कालिका आर्दश गाउँ पञ्चायतले २०२७ सालमा पुस्तकालयको नाउँमा हस्तान्तरण गरेको थियो ।
उहाँले आफनो छोरा समिर विजुक्छेको स्मृतिमा २०३० सालमा पुस्तकालयपछाडि रहेको जग्गा पनि दान गर्नु भएको थियो । ठाँटीको सार्वजनिक जग्गा पुस्तकालयको नाममा लालपुर्जा दिलाउन नेतृत्व गर्नु भएको थियो । ३३ वर्षपछि त्यहि ठाँटीमा पुस्तकालयको आधुनिक भवन निर्माण भएको हो । उहाँ २०२१ सालमा स्थापना भएको धवलागिरि वीरेन्द्र रात्री स्कुलको सञ्चालक समितिको संस्थापक अध्यक्ष । यो स्कुल शुरुमा धवलागिरि बहुमुखी क्याम्पस नजिकै लाम्पातामा सञ्चालनमा आएको थियो ।
यो स्कुलको मुख्य उद्देश्य दिउँसो काम गर्नु पर्ने बाध्यता भएका विद्यार्थीहरु शिक्षाको उज्यालो घामबाट बन्चित नहोस भन्ने थियो । यो विद्यालयको पहिलो संस्थापक प्रधानाध्यापक शास्त्रदत्त पन्त हुनुहुन्थ्यो । त्यसपछि वालकृष्ण नेवा प्रधानाध्यापक हुनु भएको थियो । २०२९ सालमा विजुक्छेले त्रिचन्द्र कलेजबाट विएसी पास गरेर आउनु भएकी कृष्णमाया अधिकारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिनु भएको थियो। । रात्री स्कुलको रुपमाा सञ्चालक भएको यो स्कुलमा पछि दिउँसो पढाई सुरु भएको थियो । त्यति बेला बागलुङमा दश वटा स्थानमा माध्यमिक विद्यालय थियो ।
विसं २०१९ सालमा विद्यामन्दिर माविमै सञ्चालनमा आएको धवलागिरि महेन्द्र इन्टर कलेजको चन्दा संकलन समितिको सदस्य तथा धौलागिरि बहुमुखी क्याम्पस निर्माण गर्न निरयघाटमा पुल कर उठाउनको लागि पनि नेतृत्व गर्नु हुँदा साहुमहाजन र सामन्तको आँखाको तारो हुनु भएको थियो ।
नौविसे टोलमा रहेको विजुक्छेको घर वामपन्थी र प्रगतिशील विचार भएका युवाहरुको जमघट हुने, बहस र विमर्श गर्ने थलो रहेको साथै यहाँ विद्यालय, क्याम्पस, पुस्तकालय कसरी सञ्चालन गर्न सकिन्छ र समाजमा विद्यमान समस्याहरु कसरी समाधान गर्न सकिन्छ भनेर छलफल पनि हुने गर्थ्र्यो।
उहाँले सर्वसाधारण गरिबको छोराछोरीले पनि पढ्न पाउनुपर्छ र रोजगारी पनि पाउनु पर्छ भन्दा उहाँ सर्वसाधारण जनता, प्रगतिशिल र वामपन्थी विचार बोक्ने युवाहरुबिच उहाँ चर्चित हुनु भयो । त्यति बेला राघेश्याम कमारो चर्चित वामपन्थी नेता भएकोले उहाँको घर राजनैतिक जागरण र कम्युनिष्ट पाठशालाको केन्द्र थियो ।
उहाँ र उहाँका भाइहरु बैकुण्ठ विजुक्छे र राघेश्याम कमारोले बागलुङमा सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनैतिक जागरण ल्याउन अतुलनिय भूमिका खेल्नु भएको थियो । बिस र तीसको दशकमा वामपन्थी विचारधारा भएका युवाहरु विजुक्छेको घरमा र प्रजातान्त्रिक विचारधारा भएका नारायण चोकस्थित ओमप्रसाद गौचनको घरमा जम्मा हुने चलन थियो । विजुक्छेले विद्यार्थीहरु र युवाहरुलाई संगठित गर्न, सामाजिक र वैचारिक रुपमा उहाँहरुको चेतनास्तर माथि उठाउन प्रभावकारी भूमिका खेल्नु भएको थियो ।
तेजेन्द्रबहादुर खड्का र ओमकार गौचन जस्ता शक्तिशाली राजनैतिक समूहको दबदबा रहेको त्यस बेला उहाँ तेस्रो शक्तिको रुपमा पनि उदाउनु भएको थियो । हक्की, कर्मशिल, मेहनती र दिन, दुखी, पीडितको पक्षमा वकालत गर्ने स्वभावको हुनुहुन्थ्यो । प्रहरी प्रशासनकहाँ पनि जनताको आवाज लिएर जान नडराउने भएकोले उहाँलाई धेरै विचारधाराका मानिस र तत्कालिन युवाहरुले मन पाथ्र्र्यो ।

















































































































































































