२१ भाद्र २०८३, आईतवार

 

आश्रमको भवनमा कोठा निर्माण गर्न राजभण्डारी परिवारद्वारा पाँच लाख सहयोगको घोषणा

बागलुङ । समाजसेवी तथा व्यवसायीहरु रामचन्द्र राजभण्डारी, श्रीमती लक्ष्मी राजभण्डारी, सुभाषचन्द्र राजभण्डारी श्रीमती अनीता राजभण्डारी, सुदेशचन्द्र राजभण्डारी, स्मिता राजभण्डारी र प्रकाश राजभण्डारी श्रीमती रिजु राजभण्डारीले मानव सेवा आश्रममा एक कोठा निर्माण गर्ने घोषणा गरेका छन् ।

राजभण्डारी परिवारले आमा महालक्ष्मी राजभण्डारी र बुबा लालबहादुर राजभण्डारीको स्मृतिमा बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवनमा एक कोठा बनाउन ५ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराउने भएको आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु हुन लागेको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको समाजसेवी तथा व्यवसायी सुदेशचन्द्र राजभण्डारीले नयाँविश्वलाई बताउनुभयो ।भवन निर्माणका लागि आयोजना हुने महायज्ञ सुरु नहुँदै उत्साहजनक रुपमा आर्थिक सहयोग जुट्न शुरु भएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो ।

स्थानीय पालिका, संघसंस्था, जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, विद्यार्थी, उद्योगी, व्यवसायी, भूपुसैनिक, शिक्षक, कर्मचारी, जनसमुदाय, देश र विदेशबाट विहीबारसम्म एक करोड संकलन भएको महायज्ञका अध्यक्ष सहदेव राजभण्डारीले नयाँविश्वलाई बताउनुभयो ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung