बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-२ ट्राफिक चोक निवासी बुबा भुक नारायण श्रेष्ठ, छोराहरु सञ्जय कुमार श्रेष्ठ, संजिव श्रेष्ठ, छोरीहरु किरण श्रेष्ठ, किसन श्रेष्ठ, निरण श्रेष्ठ, मिलन श्रेष्ठ, नातिनी अलिसा श्रेष्ठले रु २ लाख ४५ हजार सोमबार प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको बागलुङ उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य सञ्जय कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































