बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र कोष स्थापनाका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौं दिनसम्म रु ८ करोड ९४ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।
महायज्ञमा दानवीरहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । महायज्ञमा शुक्रबार मात्रै रु एक करोड ३४ लाख संकलन भएको थियो ।
यस्तै महायज्ञमा बिहिबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख संकलन भएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञमा हजारौ दानतादाहरुको सहयोग रहेको बताउनुभयो । उहाँले बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले अनलाइन ९क्युआर०मार्फत समेत सहयोग गरिरहेको जानकारी दिनुभयो ।
शुक्रबार मात्रै बागलुङ नगरपालिका–३ राजभण्डारी टोल निवासी सहदेव राजभण्डारी तथा राजभण्डारी परिवारले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि रु। १० लाख ११ हजार प्रदान गर्नुभएको थियो । यस्तै बागलुङ नगरपालिका–२ स्थित श्री राज्य लक्ष्मी सुनचाँदी गहना पसलले मानवसेवा आश्रम बागलुङ कोष स्थापना गर्न रु। ५ लाख २५ हजार सहयोग गर्नुभएको छ । यस्तै बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएनए पोर्चुगलका अध्यक्ष, बमबहादुर जि।सी र इन्द्रा कुमारी जि।सीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको एक कोठा निर्माणका लागि रु।५ लाख ५५ हजार, गोपालप्रसाद श्रेष्ठ र रामबहादुर श्रेष्ठको स्मृतिमा श्रेष्ठ परिवारले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
आश्रम एक कोठा निर्माणका लागि रु। ५ लाख ११ हजार संस्थागत रुपमा समेत प्राप्त भइरहेको छ । महायज्ञमा पाँच हजार देखि १० लाखसम्म रकम दान संकलन भइरहेको आश्रमले जनाएको छ । महायज्ञमा रु। १० करोड संकलन गर्ने लक्ष्य रहेको थियो । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले उत्साहपूर्ण सहयोग गरिरहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार विहिन सडक मानवको पुर्णस्थापनाका लागि निर्माणाधिन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका महायज्ञका सचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । महायज्ञ कात्तिक २९ गते शनिबार समापन हुनेछ ।
















































































































































































