बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका–४ उपल्लाचौर जन्म भई हाल बेल्जियम निवासी वीरेन्द्र केसी र श्रीमती सुनीता केसीले रु ५ लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरिएको वीरेन्द्र केसीले नयाँविश्वलाई बताउनुभयो । केसी परिवारले सामाजिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको सातौं दिनसम्म रु ८ करोड ९४ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनु भयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञमा भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषमा राख्ने आयोजकले जनाएको छ महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।
















































































































































































