बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि गलकोट नगरपालिका-१० पाण्डवखानी निवासी समाजसेवी, विकासप्रेमी, शिक्षाप्रेमी मानसिंह छन्त्यालले ५ लाख ३० हजार २ सय सहयोग प्रदान गरेको छ।
बुबा सुवेदार दिलबहादुर छन्त्याल, आमा टिका कुमारी छन्त्याल, दाजु सुवेदार टेकबहादुर छन्त्यालको स्मृतिमा आश्रमको भवन बनाउने र कोष निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको समाजसेवी मानसिंह छन्त्यालले नयाँविश्वलाई बताउनुभयो ।
मानवसेवा आश्रमको संस्थागत विकास र दिगो सञ्चालनको लागि नगरपालिकाले पाँच लाख सहयोग गरेको र भविष्यमा पनि नियमित सहयोग जारी रहने बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ईश्वरी प्रसाद शर्माले बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञमा रु ९ करोड ६९ लाख संकलन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

















































































































































































