बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-२ गोल्डेन गेट चोक निवासी व्यवसायी मनकाजी विश्वकर्मा र श्रीमती शान्ती देवी विश्वकर्माले रु ५१ हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजी विश्वकमाले नयाँविश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गतेसम्म सञ्चालन भएको महायज्ञमा ९ करोड ७० लाख संकलन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































