बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौर निवासी सृष्टि फर्निचर उद्योगका सञ्चालक ऋषिराम गौतम तथा मानव सेवा आश्रम बागलुङकी सञ्चालिका श्रीमती सरिता गौतमले मानवसेवा आश्रम बागलुङ शाखामा अक्षय कोष स्थापनाको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
गौतम दम्पतीले बुबा डिल्लि गौतम आमा चन्द्र गौतमको स्मृतिमा अक्षयकोष स्थापनाको लागि ६ लाख ९ हजार ४ सय १५ रुपैयाँ सहयोग गरेको बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले नयाँविश्वलाई बताउनुभयो । साथै सृष्टि फर्निचर उद्योगतर्फबाट पनि १ लाख ४६ हजार ४ सय ४६ रुपैयाँ आश्रमलाई सहयोग गर्नु भएको छ ।
महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष समेत रहनुभएकी गौतमले संचालनदेखि आश्रम व्यवस्थापनसम्मका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको हो।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको अन्तिम दिनसम्म रु ९ करोड ६९ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञमा भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषमा राख्ने आयोजकले जनाएको छ । महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो
















































































































































































