बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका–३ नारायणचोक जन्म घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बसोबास गर्नुहुने समाजसेवी सम्पूर्ण नारायण भारी र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी कार्यसमिति सदस्य श्रीमती संगम भारीले रु १ लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको धौलागिरि बचत तथा ऋण सहकारीका उपाध्यक्ष तथा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका कार्यसमिति सदस्य समाजसेवी सम्पूर्ण नारायण भारीले नयाँविश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गतेसम्म सञ्चालन भएको महायज्ञमा ९ करोड ७० लाख संकलन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































