बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका–३ गुठी निवासी समाजसेवी तथा महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले रु २१ हजार ६ सय ५५ सहयोग प्रदान गरेकी छिन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले नयाँविश्वलाई बताइन् । यसअघि पनि खड्काले मानव सेवा आश्रमको संस्थागत विकासमा निरन्तर सहयोग गर्दै आएकी छिन् ।
खड्का परिवारले सामाजिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।
















































































































































































