बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ उद्योग वाणिज्य संघले रु ५ लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेको छ ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन सहयोग हस्तान्तरण गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले नयाँविश्वलाई जानकारी दिनु भयो ।
आगामी पुस ११ गतेदेखि २१ गतेसम्म आयोजना हुन लागेको बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई उक्त रकम सहयोग गरिएको बागलुङ उद्योग वाण्ज्यि संघका महासचिव इन्द्रमणि पौडेल अर्जुनले बताउनुभयो ।
संघले सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएको बागलुङ उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको अन्तिम दिनसम्म रु ९ करोड ६९ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ । महायज्ञमा भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषमा राख्ने आयोजकले जनाएको छ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

















































































































































































