३ श्रावण २०८३, आईतवार

 

बागलुङमा ट्राफिक प्रहरीको ज्यादती : मासिक एक हजार असुलेको गुनासो

बागलुङ । पिक अप जिप व्यवसायीले ट्राफिक प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् । जिल्ला ट्राफिक कार्यालय बागलुङ अन्तर्गतका विभिन्न चेकपोष्ट तथा छड्के चेक जाँचका क्रममा प्रहरीले दुःख दिएको खुलासा जिप व्यवसायीले गरेका छन् । जिप व्यवसायीले ट्राफिक प्रहरीलाई मासिक एक हजार सहित खाद्यन्न लगायतका सामग्री समेत दिने गरेको खुलासा गरेका छन् ।

उनिहरुले जेन्जी आन्दोलन पश्चात मासिक एक हजार रकम दिन छोडेपछि प्रहरीले हैरानी बनाएको, दिनमै तीन ठाउँमा चिट काटेको तथा लखेटी–लखेटी हतोत्साही बनाएको बताउँदै आइतबार जिल्ला ट्राफिक कार्यालय घेराउ गरेका थिए । उनिहरुले प्रहरीलाई कमिसन दिने गरेको र नदिए दुख दिने गरेको बताउँदै मासिक शुल्क दिन छोडेपछि चेकपोष्ट पिच्छे नै चिट काटेको आरोप लगाएका छन् ।

ट्राफिक प्रहरीले पिक अप जिपहरुले मासिक कमिसन दिन छोडेपछि अनावश्यक दुख दिएको आरोप लगाएका छन् । यस अघि गोप्य रुपमा मासिक असुलीको कुरा गर्दै आएको जिप व्यवसायीले यसपटक खुलेरै ट्राफिक प्रहरीको भण्डाफोर गरेका छन् । पिक अप जिप व्यवसायीहरुले दिलिप थापा र सुरेश पुन लगायतका चालकको नेतृत्वमा ट्राफिक प्रहरीको भण्डाफोर गरेका थिए ।

ट्राफिक प्रहरीलाई जेन्जी आन्दोलन अघि सम्म मासिक एक हजार, कुखुरा र रक्सी लगायतका सामाग्री दिने गरेको र अहिले दिन हामी जिप व्यवसायी नमानेपछि ट्राफिक प्रहरीले ज्याजती गरेको चालक सुरेश पुनले बताउनुभयो ।

“हामीले प्रहरी पाल्ने कि परिवार, हामी त बैंकको किस्ता तिर्न नसक्दा गाडी तान्ने भइसक्यो, बिरामी, मलामी बोक्दा समेत प्रहरीले चिट काट्छ” पुनले भन्नुभयो “मासिक रकम असुल्दा नदेखे झै गर्ने प्रहरीले अहिले तीन ठाउँमा चेकिङ गरेर दुख दियो, त्यसैको प्रतिवाद गर्न आन्दोलनमा आएका हौं, आगमी दिनमा यस्तो नहोस प्रहरीले व्यवहारिकता अपनाओस ।”

बागलुङको कुश्मिसेरा, सिगाना चापाखर्क, अछेते लगायतका स्थानमा गुड्ने जिपहरुले कार्यालयमै पुगेर मासिक एक हजार दिने गरेको बताएका छन् । जेन्जी आन्दोलनको प्रभावले अब मासिक शुल्क नदिने भनेपछि ट्राफिकले गौडा कुरेर एक हजार ५०० सम्मको चिट काटेको उनिहरुको भनाई छ । उनिहरुले चाडवाडका नाममा समेत छुट्टै खर्च माग्ने गरेका छन् ।

तर ट्राफिक कार्यालय बागलुङका प्रमुख मिन कुँवरले भने यस अघिका घटनालाई आफ्नो कार्यकालमा जोड्न नहुँने तर्क पेश गर्नुहुन्छ । उहाँले ट्राफिक नियमको पालना गरे कार्वाहीमा नपर्ने बताउँदै आफू भन्दा अघि के भएको थियो भन्ने विषयमा केही जानकारी नभएको र अहिले रकम असुल्ने काम नभई नियमन गर्दै दुर्घटना न्यूनिकरणमा लागेको बताउनुभयो ।

“पहिला कस्ले कति कमसिन खायो मलाई थाहा भएन, म भदौमा आएको थिए त्यसपछि कमिसनको जालो भत्कियो, कमिसन दिन नपाएर उहाँहरु आन्दोलनमा आउनुभयो भन्ने सुनियो, उहाँहरुले नियमको पालना गर्ने र बिरामी र मलामी बोक्ला व्यवहारिकता अपनाउने सहमती भइसक्यो” कुँवरले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung