बागलुङ । बागलुङ जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
१० स्थानीय तह रहेको बागलुङमा जिल्लाका ८ वटा स्थानीय तहले रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका छन् ।
बागलुङको १० पालिकामध्ये तमानखोेला गाउँपालिका र ताराखोला गाउँपालिकाले पालिका स्तरीय प्रतियोगिता नै नगरेकाले जिल्लास्तरीय प्रतियोगितामा सहभागी नभएका हुन । प्रतियोगितामा दौड, भलिबल लगायतका विभिन्न विधामा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बौल्दै प्रमुख अमर बहादुर थापाले रनिङ शिल्ड प्रतियोगिताले स्थानीय तहमा खेलकुदका कार्यक्रमहरु वृद्धि भएको बताउनुभयो ।
उहाँले स्थानीय तहले अझै खेलकुदका कार्यक्रममा बजेट बढाउन आवश्यक रहेको बताउदै खेलाडि जन्माउन खेल पूर्वाधार आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा जिल्लाभरका ८०० खेलाडी विद्यार्थी सहभागी भएका छन् । यस पटक प्रतियोगिता सञ्चालनका लागि बागलुङका स्थानीय तहबाट सहयोग रकम संकलन गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि सरकारले बजेट नपठाएका कारण नगरपालिकाबाट ६० हजार र गाउँपालिकाबाट ४० हजारका दरले सहयोग संकलन गरी प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदश खेलकुद परिसदका सदस्य सचिव श्रीधर शर्मा, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र गण्डकी प्रदेश खेलकुद परिसद सदस्य कन्चन थापा कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम समितिका अध्यक्ष कृष्ण कँडेलको अध्यक्षता र सवि किशोर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































