बागलुङ । कालिका भगवती गुठी बागलुङ व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
गत भदौमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार अहिलेसम्म ग्रहण गर्नुभएको थिएन ।
गुठी संस्थानमा नेतृत्व अभावमा नियुक्त भएर पनि कामको जिम्मेवारी लिन ढीला भएकोमा गत माघ २ गते जिम्मेवारी आएपछि पदभार ग्रहण गरेको खड्काले बताउनुभयो ।
हरेक ४ वर्षमा गुठीको अध्यक्षसहित समितिको हेरफेर हुन्छ । प्रसिद्व बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भइसकेपछि गत भदौमा बागलुङ नगरपालिका –१ ले संस्थानमा पत्र पठाएको थियो ।
संस्थानको स्विकृतिपछि अध्यक्षसहित पदाधिकारी बन्ने प्रावधान छ ।
वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्रअनुसार समिति गठन भइ सिफारिस भएअनुसारका पदाधिकारीले बुधबार कालिका मन्दिर प्रवेश गरी पूजा गर्नुभएको थियो ।
पदभार ग्रहणपछि खड्काले मन्दिर व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने, सटरमा बेचिने सामग्रीको अनिवार्य मूल्य सूची राख्ने र आम उपभोक्तालाई सहज व्यवस्थापन गराउने प्रतिवद्दता जनाउनुभयो ।
समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का, सदस्यहरुमा धुर्व खड्का, मनोज खड्का, भूपेन्द्र खड्का र शिव खड्का चयन हुनुभएको छ ।













































































































































































































