३ श्रावण २०८३, आईतवार

 

धौलागिरि अस्पतालले स्वास्थ्य सेवामा फड्को मारेको छ : मन्त्री गौतम

बागलुङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले धौलागिरि प्रादेशिक अस्पतालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताउनुभएको छ । स्थलगत निरीक्षणका क्रममा उहाँले गण्डकी प्रदेशमै नवीन मोडलमा अस्पताल सञ्चालन भइरहेको पाइएको जानकारी दिनुभयो ।

मन्त्री गौतमले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्दै संघीय सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले मनोरोग तथा छाला रोग विशेषज्ञ चिकित्सक बागलुङ पठाउन पहल गर्ने र अस्पतालमा नर्सिङ कलेज स्थापनाबारे छलफल अघि बढाइने जानकारी दिनुभयो ।

अस्पतालको इमर्जेन्सी, आइसियु र बालरोग वार्डको अवलोकन गर्दै मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकार निरन्तर सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसै गरी धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै व्यवस्थापन समितिका नवनियुक्त सदस्यहरु कर्णबहादुर हमाल र तारा शर्मा स्वागत गरिएको थियो ।

कार्यक्रम धौलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता र मेडिकल रेकर्डर नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung