२० भाद्र २०८३, शनिबार

 

पुस्तक व्यवसायी लालचन्द्र राजभण्डारी सम्मानित

बागलुङ । ८४ वर्षिय पुस्तक तथा स्टेशनरी व्यवसायी लालचन्द्र राजभण्डारी सम्मानित भएका छन् । राजभण्डारीलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सम्मान गरेको हो ।

शैक्षिक, सामाजिक र राजनैतिक चेतना वृद्धि गर्न र स्थानीय अर्थतन्त्र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै राजभण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष कृष्ण प्रसाद पोखरेल र सचिव प्रदिप खनालले कदरपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

राजभण्डारी पूर्वशिक्षक, बागलुङ उद्योग वाणिज्य संघ, विद्यान्दिर पुस्तकालय, शंखधर बहुमुखी सहकारी, लायन्स क्लब अफ धौलागिरिकाका पूर्वअध्यक्ष समेत हुन् । उहाँले १९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालय र २००९ सालमा स्थापना भएको रुद्रेपिपल माध्यमिक विद्यालयको आधुनिक भवन निर्माणको लागि आयोजित महायज्ञको नेतृत्व गर्नु भएको थियो ।

महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनका अवसरमा आयोजित एक समारोहमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी बागलुङका अध्यक्ष जिवन नाथ शर्माले राजभण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

लालचन्द्र राजभण्डारीले २०२२ सालमा बागलुङ नगरपालिका- ३ राधाकृष्ण टोलमा लालचन्द्र सूर्यचन्द्र राजभण्डारी पुस्तक तथा स्टेशनरी पसल संचालनमा ल्याउनु भएको थियो ।

साथै लालचन्द्र कृष्णचन्द्र पुस्तक तथा स्टेशनरी हुँदै लालचन्द्र राजेशचन्द्र राजभण्डारीको नाममा नगरपालिका–३ लालिगुराँस चोकबाट सेवा प्रदान गरिरहेको पनि छ दशक भयो । राजभण्डारीले म्याग्दीको बेनीमा पनि २०२६ सालमा पुस्तक तथा स्टेशनरी पसल संचालन गर्नु भएको थियो ।

बागलुङको शैक्षिक जागरण ल्याउन र सामाजिक, राजनैतिक, सांस्कृतिक र आर्थिक चेतना फैलाउन लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक पसलको महत्वपूर्ण योगदान रहेको अध्यक्ष जिवन नाथ शर्माले बताउनुभयो ।

राजभण्डारीले पुस्तक पसलमार्फत धौलागिरि क्षेत्रमा बहुदलको प्रचार गरेको, कम्युनिष्ट र कांग्रेसको पक्षमा जनमत सृजना गरेको भनि पंचायत कालमा पक्राउ समेत परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung