बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश स्थित सत्यवती मन्दिरमा विद्युतीकरण गरिएको छ । जंगलको बीचमा रहेको मन्दिरमा लामो समयदेखिको प्रयासपछि विद्युतीकरण कार्य सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरणको पहलमा २०८२ साल फागुन ९ गते शनिबार मन्दिर परिसरमा करिब ६०० मिटर दूरीसम्म तार तानी विद्युत् बत्ती जडान गरिएको हो ।
विद्युतीकरण कार्य सम्पन्न गर्न वडा कार्यालय, मन्दिर व्यवस्थापन समिति, चिटतेधारी सामुदायिक वन, स्थानीय समाजसेवी तथा प्राविधिक सहयोगी ताराप्रसाद गौतम लगायतको सक्रिय भूमिका रहेको थियो ।
प्राविधिक गौतमका अनुसार सम्बन्धित निकायको पहल र स्थानीयवासीको सहकार्यका कारण लामो समयदेखि अधुरो रहेको विद्युतीकरणको योजना पूरा भएको हो । अब मन्दिरमा साँझ–बिहान नियमित पूजा–आराधना तथा धार्मिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
विद्युतीकरण सम्पन्न भएसँगै स्थानीयवासीले सहयोग गर्ने सबै निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन् । साथै यसले धार्मिक गतिविधि सञ्चालनमा थप सहजता ल्याउनुका साथै मन्दिर क्षेत्रको संरक्षण र प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।













































































































































































































