बागलुङ । एउटै ढुङ्गा काटेर कुँदेका कलात्मक ढुङ्गा । भक्तपुरे कलात्मक काठका टुडाल, तामाले छाएको छानो चार कुनामा ढुङ्गाकै संरचना र रेलिङ । हालै पुननिर्माण गरिएको बागलुङको मालिका मन्दिरको शौन्दर्यता कला प्रेमिका लागि निकै भव्य लाग्दछ । मन्दिर जस्तो कलात्मक रुपमा निर्माण भएको छ त्यो भन्दा बढी छ मालिका भगवतीको महिमा ।
पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चर्चा कमाएको बागलुङ नगरपालिका–५ स्थित मालिका मन्दिर धार्मिक पर्यटकको रोजाईमा छ । धार्मिक गन्तव्य बनिसकेको पञ्चकोट नजिकै रहेको मालिका मन्दिर पुननिर्माणयता निकै पर्यटकहरु आउन थालेका छन् ।
भक्तजनहरु मंगलबार र शनिबार पुग्नेभएपनि पर्यटकहरु भने अन्य समयमा समेत पुग्ने गरेको बागलुङ नगरपालिका–५ मालिकाका वडा अध्यक्ष हरि प्रसाद शर्माले जानकारी दिनुभयो । मन्दिर क्षेत्रमा दिव्य शिला काटेर बाघको मूर्ती बनाउने र पार्क बनाउने कार्य भइरहेको छ भने पाञ्चायन देवताको मन्दिर निर्माण सम्पन्न भइसकेको छ । मन्दिर निर्माण सहित अन्य संरचनामा रु। एक करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।
मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाका अनुसार ऐतिहासिक तथा धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण मानिएको मालिका मन्दिर पुननिर्माणपछि चर्चामा आएको बताउनुभयो । नगन्य मात्रामा धार्मिक पर्यटक आउने मन्दिरमा पुननिर्माण पछि दैनिक एक सय भन्दा बढि धार्मिक पर्यटकहरु घुम्न र पुजा आजाका लागि आउने गरेका छन् भने शनिबार र मंगलबार दोब्बर बढीको भीड हुने गर्दछ ।
“पञ्चकोटको जस्तै चर्चा कमाउन थालेको छ, मालिका मन्दिर कलात्मक र वरपरको संरचनाले धार्मिक पर्यटकलाई लोभ्याएको छ भने मनोकाँक्षा पुरा हुने विश्वासले पछिल्लो समय मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुको आकर्षण बढेको छ” सापकोटले भन्नुभयो “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५४ लाखमा मन्दिर पुननिर्माण थालिएपनि मन्दिरमा थुप्रै कलात्मक पूर्वाधार र मन्दिरसंग जोडिएका अन्य पूर्वाधारमा एक करोड खर्च भइसकेको छ ।”
एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुननिर्माण गरेकाले समेत धेरै पर्यटकहरु मन्दिर अवलोकनका लागि पुग्ने गरेको पाइएको छ । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढंगले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुननिर्माण सम्पन्न गरिएको हो ।
तीन तलाको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर दर्शन गर्नाले मनोकाँक्ष पुरा हुने जनविस्वास रहेको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो । मालिका मन्दिरसंगै गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार लगायतका संरचना तयार भइसकेका छन् भने मन्दिर भन्दा माथिरहेको २० फिटको दिव्य शिला कुँदेर बाघको आकृति बनाउनेकाम भइरहेको छ ।
बागलुङ नगरपालिकाको रु ६ लाख लागतमा दिव्य शिला कुँदेर बाघको मुर्ती बनाउनेकाम तीन महिना यता धमाधम भइरहेको छ । बागलुङ नगरपालिकाका उपप्रमुख तथा पर्यटन विकास समितिका संयोजक राजु खड्काले बागलुङका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचार प्रसारमा जोड दिइएको बताउनुभयो । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्मदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आइएको छ ।













































































































































































































