३ श्रावण २०८३, आईतवार

 

लामाचौरमा प्रबुद्ध युवा समूहको सरसफाई अभियान सम्पन्न

बागलुङ । सामाजिक काममा सक्रिय प्रबुद्ध युवा समूहले बागलुङ नगरपालिका–४ स्थित लामाचौर र रमेटार क्षेत्रमा सरसफाई अभियान सम्पन्न गरेको छ ।

बागलुङ बजारमा सक्रिय समूहले वातावरणीय स्वास्थ्यलाई मध्यनजर गर्दै रमेटार–लामाचौर क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरेको समूहका अध्यक्ष रोहित सुनारले बताए ।

समूहले बागलुङ नगरपालिका–४ रमेटार अन्तर्गत लामाचौर क्षेत्रमा दुई दिनसम्म सरसफाई अभियान सञ्चालन गरी सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा थुप्रिएको फोहोर संकलन तथा व्यवस्थापन गरेको जनाएको छ ।

अभियानले “आफ्नो शहर वा स्थानलाई स्वच्छ, सफा र शान्तिपूर्ण बनाउनु प्रत्येक नागरिकको साझा जिम्मेवारी हो” भन्ने सन्देश दिएको छ ।

“हामीले सफा गर्दै जाने तर अरूले फोहोर गर्दै जाने हो भने हाम्रो ठाउँ बिग्रँदै जान्छ, त्यसैले पछि विकास नभएको भन्दै अरूलाई दोष दिनु उचित हुँदैन,” समूहका अध्यक्ष सुनारले बताए ।

समूहका अध्यक्ष सुनारले अझै पनि केही युवाहरूले सार्वजनिक स्थल फोहोर गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई सुधार गर्न सबै सचेत हुनुपर्ने बताए ।

“आउनुहोस्, हामी सबैले आफ्नो वरपर सफा राख्ने र सुरु गरिएको सकारात्मक परिवर्तनलाई निरन्तरता दिने जिम्मेवारी लिऔं,” उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung