बागलुङ । बागलुङमा १०७ मतदानस्थलमा सुरक्षाकर्मी सहित कर्मचारी खटेका छन् । निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पठाइएको हो ।
बागलुङ बजारको मुख्य निर्वाचन कार्यालय र बागलुङको ढोरपाटन नगरपालिका–२ कुथाप्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्रसहितका ४९ निर्वाचन सामग्री बुझेर मतदान स्थलतर्फ खटाईको र त्यहाँ पुगेर सुचना टाँस गर्न लगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका प्रमुख सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई वटै निर्वाचन क्षेत्रका १०७ मतदातस्थलमा निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई नियुक्तीपत्र सहित सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामग्री एकसाथ पठाइएको हो ।बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन् भने दुई अस्थायी मतदान केन्द्र रहेको छ ।
मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर, मतदाता नामावली, छेकाबार लगायतका मतदानका दिन आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।
बागलुङमा एक हजार ३८० कर्मचारी निर्वाचनका लागि खटिएका छन् भने आवश्यक स्वयंंसेविका मतदानस्थलमै नियुक्ति गरिने छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।













































































































































































































