बागलुङ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बागलुङ क्षेत्र नम्बर २ का सांसद सोम शर्मा बडिगाड गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध थानपति मन्दिरमा दर्शनका लागि पुगेका छन्। मन्दिर परिसरमा पुगेका उनलाई स्थानीय नागरिकहरूले स्वागत तथा बधाई दिएका थिए।
सो अवसरमा गाउँका जेष्ठ नागरिक ७२ वर्षीय मनबहादुर पाईजाले सांसद शर्मालाई माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। त्यसपछि उपस्थित गाउँलेहरूले सामूहिक रूपमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।
बधाईपछि बोल्दै सांसद शर्मा आफू अब राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र प्रतिनिधि नभई बागलुङ क्षेत्र नम्बर २ का सबै उम्मेदवार र सम्पूर्ण जनताको साझा प्रतिनिधि तथा सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा जनताको हित र विकासका लागि निरन्तर खटिरहने बताए।
उनले जनताका आधारभूत आवश्यकताहरू जस्तै खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे। साथै थानपति मन्दिरको संरक्षण तथा विकास, सडक विस्तार र गाउँका अन्य आवश्यक योजनाहरूलाई सम्बोधन गर्न आफूले पहल गर्ने बताए।
सांसद शर्माले संघीय संसदमा नीति निर्माण तहमा बागलुङका जनताका आवाजलाई बुलन्द रूपमा उठाउने पनि प्रतिबद्धता जनाए।
कार्यक्रममा थानपति मन्दिर संरक्षण समितिका अध्यक्ष लोकनाथ घिमिरेले निर्वाचन जितेको दुई दिनमै गाउँ र मन्दिरलाई प्राथमिकतामा राखेर सांसद शर्मा उपस्थित भएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँका दुई दर्जनभन्दा बढी नागरिकले नवनिर्वाचित सांसदलाई बधाई दिएका थिए। साथै शर्मा छिमेकि भिरकटेरा गाउँमा समेत उपस्थित भई जनतालाई धन्यवाद ज्ञापन गरेका थिए
सांसद शर्मा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागलुङ क्षेत्र नम्बर २ बाट ७७९ मतान्तरले विजयी भएका हुन्।














































































































































































































