बागलुङ । जेष्ठ नागरिक दिवा सेवा, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तहरुको उद्धार र सेवाको लागि बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कमा सञ्चालन भएको महापुराणमा रु २० लाख बराबरको दान संकलन भएको छ ।
चैत २१ गतेदेखि सञ्चालन भएको श्रीमद् भागवत महापुराण पितृ सप्ताहमा उक्त रकम संकलन भएको सप्ताहका अध्यक्ष लिला देवी खड्काले जानकारी दिइन् । मुख्यत जेष्ठ नागरिक दिवा सेवा संचालनको लागि श्रीमद् भागवत महापुराण पितृ सप्ताह सञ्चालन गरिएको हो ।
महापुराणमा पण्डित तीर्थराज उपाध्यायको मुखारबिन्दबाट संगीतमय शैलीमा कथाप्रवचन भइ रहेको छ ।
मानविय, सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा सहयोग गर्दै आएका चन्दादाता र समाजसेवीहरुले आर्थिक सहयोग गरि रहेका छन् । चिप्लेटी बसपार्कमा सेवा केन्द्रको आधुनिक भवन निर्माण गर्ने लक्ष्यसहित चैत्र २१ गतेदेखि सुरु भएको महापुराण चैत्र २७ गते समापन हुने श्रीमद् भागवत महापुराण पितृ सप्ताहका सचिव सुमन खड्काले जानकारी दिइन् ।
महापुराणबाट संकलन भएको रकम भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम श्रीवृद्धिमा लगानी गरिने आयोजकले जनाएको छ ।
यस महापुराणबाट प्राप्त रकमबाट लागुऔषध नियन्त्रण, साइबर अपराधको बारेमा सचेतना शिक्षा चलाउने, घरेलु हिंसा, महिला हिंसा, बालश्रम शोषणको बारेमा जनचेतना कार्यक्रम संचालन गर्ने, दैवी प्रकोप निको बारेमा जानकारीमुलक कार्यक्रम पनि संचालन गरिने महापुराणकी संयोजक खड्काले नयाँ विश्वलाई जानकारी दिइन् ।













































































































































































































