बागलुङ । भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका– ७ मा रहेको भीमगिठे स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ ।
भवनको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
चार करोड सात लाख १२ हजार ६२७ कुल लागत रहेको स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतीय राजदूतावासले सोले तिलक निर्माण सेवा प्रालिलाई जिम्मा दिएको बडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । कुल लागतमा पाँच प्रतिशत रकम गाउँपालिकाको तर्फबाट लगानी हुने भएको छ ।
भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी निर्माण हुन लागेको हो ।
स्वास्थ्यचौकी भवनको आगामी १५ महिनासम्ममा निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा सम्झौता भएको भएको बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए ।
पुरानो भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकी भवन जीर्ण रहेका कारण गाउँपालिकालको अनुरोधमा भारत सरकारले सहयोग गरेको हो । भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच भवन बनाउने गरी गत कात्तिक २४ गते सम्झौता भएको थियो ।
नेपाल–भारतबिचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष अधिकारीले बताइन् ।













































































































































































































