३ श्रावण २०८३, आईतवार

 

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

मंगलबार राति करिब १२ बजे लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ध १ त ५७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ११ फिट तल खसेर स्थानीय चुणामणी बिकको ढुङ्गा–माटोले बनेको टिनले छाएको एकतले कच्ची गोठमाथि बजारिएको थियो ।

दुर्घटनाको खबर बिहान ६ः३० बजे स्थानीयमार्फत इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पुगेपछि प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा घाइते भएका ढोरपाटन नगरपालिका–५ कै १६ वर्षीय शुसिलकुमार बिकलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएकोमा बिहान ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेका छन् भने खोजी कार्य जारी छ । ट्याक्टर धनी भने प्रहरी सम्पर्कमा आएका छन् । दुर्घटनाबाट गोठमा आंशिक क्षति पुगेको भए पनि पशुचौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung