२ श्रावण २०८३, शनिबार

 

तग्राम जोड्ने डुडियाघाटमा पक्की पुल निर्माण

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका लागि डुडियाघाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ । बागलुङको काठेखोला गाउँपलिकाभित्र बाह्रै मास सवारीसाधन सञ्चालनमा ल्याउने योजना अनुसार डुडियाखोलाको डुडियाघाटमा पक्की पुल निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रु. तीन करोड ६२ लाख २२ हजार खर्चेर पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का पाएको बिएमए निर्माण सेवाले २०८० कात्तिक १७ गते २०८२ वैशाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । निर्माण कम्पनीले सम्झौताको एक वर्ष ढिलागरी निर्माण कार्य सकेको छ ।

आरसीसीटी बिम प्रकारको पुल ८ दशमलव ४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ । पुल निर्माणपछि काठेखोला गाउँपालिकाको दुई वडा तङ्ग्राम र धम्जामा र ताराखोला गाउँपालिका पुग्ने छोटो सडक बाह्रैमास सञ्चालनमा आउने छ ।

गाउँपालिका भर अहिले सम्म गण्डकी प्रदेश सरकारले तीन ठाउँमा पक्की पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका भर वर्खामा यातायात ठप्प नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकाको रेश जाने सडकको रेश स्थित एक्लेखेत, लामाबगर खोला र डुडियाघाटमा पक्की पुल बनेपछि गाउँपालिकाका सबै वडामा बाह्रैमास सवारीसाधन चल्ने भएको अध्यक्ष थापाले बताउनुभयो ।

गण्डकी प्रदेश सकारको १२ करोड लगानीमा तीन वटा पुल निर्माण सम्पन्न भएको हो । “पक्की पुल निर्माणमा प्रदेश सरकाले सहयोग गरेका कारण काठेखोलामा बाह्रैमास सवारीसाधन चल्ने भएका छन्, दुई वर्षदेखि रेश र तीन वर्षदेखि लामाबगरमा पुल बन्दा सहज भएको र अहिले डुडियाघाटको पुल समेत निर्माण सम्पन्न भइसकेको छ” थापाले भन्नुभयो “पुल नहुँदा बर्खामा सवारीसाधन ठप्पजस्तै हुन्थे अब सहज भयो, गाउँपालिकाको ध्यान अब सडक स्तारोन्नतीमा छ ।”

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्ष पहिले ३० मिटर लामो पक्की पुल रु.तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको थियो भने दुई वर्ष अघि मात्रै रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल रु. पाँच करोडमा निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung