बागलुङ । बागलुङ नगरपालिका–३ किनारा टोलमा जन्म भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा बसोबास गर्दै आएका समाजसेवी, व्यवसायी तथा नेपाल एपीएफ क्लबका सदस्य सुकुन्द प्रसाद प्रधानलाई नेपाल एपीएफ क्लब, हलचोक काठमाडौंले सम्मान गरेको छ।
प्रधानले नेपाल एपीएफ क्लबलाई विभिन्न खेलकुद सामग्री उपलब्ध गराई खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै क्लबले उहाँलाई प्रशंसापत्र प्रदान गरेको हो।
नेपाल एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (सप्रबउ) कमल प्रसाद तिउसिनाले प्रधानलाई प्रशंसापत्र प्रदान गर्दै खेलकुद क्षेत्रप्रतिको उहाँको सहयोग प्रशंसनीय रहेको बताउनुभयो।
प्रधान परिवारले शिक्षा, स्वास्थ्य, खेलकुद तथा धार्मिक क्षेत्रका विभिन्न सामाजिक गतिविधिमा निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँको सामाजिक योगदानले विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव परेको भन्दै क्लबले सम्मानमार्फत कदर गरेको जनाएको छ।














































































































































































































