बागलुङ। धौलागिरि अस्पतालमा उपचार सेवा विस्तारसँगै रक्तसञ्चार सेवाको क्षमता अभिवृद्धि गर्न बागलुङ सेवा समाज अमेरिका (बीएसएसए) ले नेपाल रेडक्रस सोसाइटी बागलुङलाई जेनेरेटर र रक्तदानका लागि आवश्यक चार वटा आधुनिक डोनर चेयर हस्तान्तरण गरेको छ।
समाजका महासचिव खिवराज शर्मा शर्माले नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यलाई ३० केभिएको जेनेरेटर र रक्तदानका लागि आवश्यक चार वटा आधुनिक डोनर चेयर (कुर्ची) हस्तान्तरण गर्नुभयो।
समाजले ९ लाख ५० हजार रुपैयाँ बराबरको जेनेरेटर तथा रु चार लाख पचास हजारको रुपैयाँ बराबरका चार वटा रक्तदान कुर्ची उपलब्ध गराएको हो।
धौलागिरि अस्पतालमा दैनिक करिब ४ सय ५० जना बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये दैनिक ६–७ जना शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी रहने गरेका छन्।
सर्पदंश, अत्यधिक रक्तस्राव, शल्यक्रिया तथा रेबिजका बिरामीको उपचारका लागि आवश्यक रक्तसञ्चार सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
रक्तसञ्चार केन्द्रमा अहिले रातो रगत संकलनसँगै सेतो रगत (रक्त अवयव) उत्पादन पनि नियमित रूपमा हुन थालेको छ। यसअघि विद्युत आपूर्तिको समस्याका कारण सेवा प्रभावित हुँदै आएको भए पनि जेनेरेटर र आवश्यक उपकरण प्राप्त भएपछि सेवा थप प्रभावकारी बनेको बागलुङ सेवा समाज अमेरिकाका अध्यक्ष गौरीश्वर शर्माले बताउनुभयो।
उहाँका अनुसार बागलुङ घर भई विदेशमा बसोबास गर्ने नेपालीहरूले पछिल्लो एक वर्षमा झण्डै एक करोड रुपैयाँ सहयोग जुटाएका छन्। उक्त सहयोगबाट जेनेरेटर, रक्तदान बेड, रातो रगतलाई विभिन्न रक्त अवयवमा छुट्याउने उपकरणलगायत आवश्यक सामग्री खरिद गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा महासचिव शिवराज शर्माले यो सहयोग सुरुआत मात्र भएको उल्लेख गर्दै विदेशमा रहे पनि जन्मथलोको स्वास्थ्य सेवाको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसअघि बागलुङ समाज जापानले करिब १३ लाख रुपैयाँ बराबरको कम्पोनेन्ट प्रोसेसर मेसिन सहयोग गरेको थियो। डिप फ्रिजसहित आवश्यक उपकरण थपिएपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रबाट अहिले एफएफपी (Fresh Frozen Plasma) र पीआरपी (Platelet Rich Plasma) लगायतका रक्त अवयव नियमित रूपमा उत्पादन हुन थालेका छन्।
अस्पतालको उपचार क्षमता विस्तारसँगै रक्तसञ्चार सेवाको गुणस्तर र पहुँच बढाउन प्रवासी नेपालीहरूको सहयोग महत्वपूर्ण बनेको नेपाल रेडक्रस सोसाइटी बागलुङले जनाएको छ।

तस्बिर : ढोरपाटन न्युज र जगन्नाथ आचार्यको फेसबुकबाट
















































































































































































