१२ श्रावण २०८३, मंगलवार

 

बागलुङमा तीव्र गतिमा फैलियो डेंगु, साउनमै ४३ जनामा संक्रमण

बागलुङ ।  बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । साउन यत्रा मात्रै जिल्लामा ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार सबैभन्दा बढी बागलुङ नगरपालिका क्षेत्रमा ४० जनामा डेंगु पुष्टि भएको छ ।

गलकोट नगरपालिकामा दुई र ढोरपाटन नगरपालिकामा एक जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार नौ दिनमै ४३ जनामा संक्रमण देखिनु जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण अवस्था हो । बागलुङ नगरपालिका–३ गुठी क्षेत्रमा संक्रमण तीव्र भएपछि जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

उहाँले सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका बिरामीको तथ्याङ्क मात्र उपलब्ध भएकाले निजी अस्पताल तथा मेडिकलमा गरिएको परीक्षणसमेत जोड्दा संक्रमितको संख्या अझ बढी हुन सक्ने बताउनुभयो ।

डेंगु नियन्त्रणका लागि जिल्लाभर सचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्ने तयारी गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

लामखुट्टेले अण्डा पार्न सक्ने स्थानको खोजी गरी लार्भा नष्ट गर्ने, पानी जम्न नदिने तथा समुदायमा निरन्तर सरसफाइबारे जनचेतना फैलाइने घिमिरेले बताउनुभयो ।

धौलागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ अस्पताल र गलकोट नगर अस्पतालमा परीक्षण गराउन आएका बिरामीमा डेंगु पुष्टि भएको हो । गलकोट र ढोरपाटन क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung