बागलुङ। नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलन जारी रहँदा धौलागिरि प्रादेशिक अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा आज पनि बन्द भएको छ।
सरकार र नेपाल चिकित्सक सङ्घबीचको वार्ता निष्कर्षमा नपुगेपछि सङ्घको आह्वानमा धौलागिरि प्रादेशिक अस्पतालले दोस्रो दिन पनि ओपीडी सेवा बन्द गरेको हो।
धौलागिरि प्रादेशिक अस्पतालकी सूचना अधिकारी शान्ती पौडेलका अनुसार नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएको भन्दै ओपीडी सेवा बन्द गरिएको हो।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भएको थियो।
उक्त घटनामा डा. राम गम्भीर घाइते भएपछि दोषीमाथि कडा कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै नेपाल चिकित्सक सङ्घले देशव्यापी आन्दोलन सुरु गरेको हो।
आन्दोलनका कारण धौलागिरि प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द हुँदा सयौँ बिरामी नियमित स्वास्थ्य सेवा लिनबाट प्रभावित भएका छन्। अस्पतालले भने आकस्मिक (इमर्जेन्सी) सेवा भने यथावत् सञ्चालनमा रहेको जनाएको छ।
यता, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्र भएको तोडफोडको घटनापछि आन्दोलन थप चर्किएको छ। सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत प्रभावित बनाएका छन्।













































































































































































































