बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीको चाप आकस्मिक कक्षमा बढेको पाइएको छ ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा मंगलबारदेखि नेपालभरका ओपीडी सेवा बन्द भएपछि अस्पतालमा पुगेका बिरामी मर्कामा परेका छन् ।
नेपाल चिकित्सक संघले दोस्रोदिन समेत ओपीडी सेवा ठप्प पारेपछि विरामीलाई मर्का परेको छ । धौलागिरि अस्पतालको आकस्मिक कक्षमा विरामीको संख्या ह्वातै बढेको पाइएको छ ।
सरकार र नेपाल चिकित्सक संघबीचको वार्ता निष्कर्षमा नपुगेपछि संघको आह्वानमा धौलागिरि प्रादेशिक अस्पतालले दोस्रो दिन पनि ओपीडी सेवा बन्द गरेको हो ।
मंगलबार आकस्मिक कक्षमा १०३ जनाले सेवा लिएकोमा बुधबार सो संख्या बढेर १२५ बढी भएको अस्पतालका निमित्त मेसु प्रविण घिमिरेले जानकारी दिनुभयो ।
“अस्पतालमा आएका बिरामीलाई ओपीडी बन्द भएपछि आकस्मिक कक्षबाटै उपचार गरिरहेको छ, तत्कालै उपचार गर्नुपर्ने कोही छुटेका छैनन्” घिमिरेले भन्नुभयो “बिरामीको चापलाई मध्यनजर गर्दै आकस्मिक कक्षमा समेत चिकित्सक थपेका छौं भने आकस्मिक कक्षको माग अनुसार विशेषज्ञ चिकित्सक समेत पठाएका छौं ।”
धौलागिरि प्रादेशिक अस्पतालकी सूचना अधिकारी शान्ती पौडेलका अनुसार नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएको भन्दै ओपीडी सेवा बन्द गरिएको हो ।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उपचारमा संलग्न मेडिकल अफिसर डँ. प्रमोद राममाथि आक्रमण भएको थियो ।
आन्दोलनका कारण धौलागिरि प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द हुँदा सयौँ बिरामी नियमित स्वास्थ्य सेवा लिनबाट प्रभावित भएका छन् ।
यता, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्र भएको तोडफोडको घटनापछि आन्दोलन थप चर्किएको छ।
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत प्रभावित बनाएका छन् ।













































































































































































































