काठमाडौं । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बल्खुदेखि कीर्तिपुरसम्मको करिडोर क्षेत्रमा १,५०० वटा बिरुवा रोपिएको छ।
रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ कीर्तिपुर र रोटरी क्लब अफ बागलुङको संयुक्त आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्।
रोटरी क्लब अफ ज्ञानेश्वरकी अध्यक्ष सोनी श्रेष्ठका अनुसार कार्यक्रममा कुल १,५०० वटा बिरुवा रोपिएको हो। उहाँले वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा नयाँ पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको बताउनुभयो।
आयोजकहरूले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै वातावरण संरक्षणमा समुदायको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।













































































































































































































