बागलुङ। दाबगरामा बागलुङ बसपार्क सञ्चालनमा आएसंगै खाली भएको चिप्लेटी बसपार्कलाई जीप पार्कको रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बागलुङ बजारको चिप्लेटी बसपार्कबाट साना सवारी साधन सञ्चालन गर्नेगरी सहमती भएको छ ।
बागलुङ नगरपालिका– ४ रहेको नवनिर्मित दावगरा स्थित बागलुङ बसपार्कबाट लामो तथा छोटो दुरीका बस, मिनिबस तथा भ्यानहरु संचालनमा आएसँगै चिप्लेटी बसपार्क खाली भएपछि चलायमान बनाउन साना सवारी राख्नेगरी जनप्रतिनिधि, यातायात व्यवसायी तथा प्रजिअ बीच सहमती भएको हो ।
बसपार्कका स्थानीयले चिप्लेटी बसपार्क खाली भएपछि व्यापार व्यवसाय घटेकाले चलायमान बनाउन माग गर्दै आएका थिए ।
बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको छलफल पश्चात गुठीमा रहेको चिप्लेटी बसपार्कलाई जीप पार्कको रुपमा सञ्चालनमा ल्याउनेसहमती भएको हो ।
पिकअप जिप, ट्याक्सी, तथा तीनपाङ्ग्रे र अन्य साना सवारी साधन चिप्लेटी बसपार्कबाट छुटाउने सहमती जुटेको आचार्यले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईलाई चिप्लेटी बसपार्कमा जीप पार्कीङ गर्ने व्यवस्था मिलाउन भनिएको आचार्यको भनाई छ ।
बजार क्षेत्रका सवै वडाका वडा अध्यक्ष सहितको बैठकले चिप्लेटी बसपार्कलाई जिप पार्क र अन्य सवारी साधन पार्किङको रुपमा संचालन गरिने सहमती जुटाएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपल्लाचौरमा नयाँ वसपार्क निर्माणसँगै त्यहाँबाट बस तथा माइक्रो र इभी माईक्रोहरु संचालनमा आएपछि चिप्लेटी क्षेत्र खाली अवस्थामा रहेको थियो ।
स्थानीयको मागलाई सम्बोधन गर्दै यहाँबाट जिप, ट्याक्सी र गाउँबाट आउने पिकअप जिप संचालनमा ल्याइउदा बागलुङ बजारको अव्यवस्थित पार्कीङ हट्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
हाल बागलुङ नगरपालिका– २ जिपपार्कबाट जिपहरु छुट्नुका साथै पार्किङ हुँदै आएका छन भने, ट्राफिक चोकमा ट्याक्सीहरु पार्किङ हुँदै आएका छन ।
साना सवारी साधनका लागि यथाशिघ्र छिटो आवश्यक पुर्वाधारको व्यवस्थापन गरी चिप्लेटी बसपार्कबाट नै छुट्ने र यही पार्किङ गर्ने गरी तयारी थालिएको हो ।
गाउँबाट आउने पिकअप जिपले यात्रुलाई जथाभावी ओराल्ने र चढाउने गर्दा बजार क्षेत्रमा ट्राफिक समस्या बढ्दै गएको गुनासोका बीच चिप्लेटीमा जीप राख्ने व्यवस्था मिलाइने भएको ।
सर्वपक्षिय बैठकबाट गरेको सहमतीलाई थप व्यवस्थापन गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धौलागिरी कालिका यातायात प्रा.ली.का अध्यक्ष दिनेश बोहोराले बताउनुभयो ।
यस क्षेत्रका वडा अध्यक्ष स्थानीय र व्यवसायी सहितले यस क्षेत्रमा बसपार्क वा जिपपार्क संचालन गरेर व्यवसायलाई चलयमान गराउनुपर्ने माग राख्दै आएका थिए ।
















































































































































































