मुस्ताङ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, बढ्दो विपद्को जोखिम र जलवायु न्यायका विषयमा बहस गर्न देशभरका स्थानीय तहका नेतृत्व मुस्ताङमा भेला हुने भएका छन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा भदौ ३० गते मंगलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गरिएको हो । जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका क्षेत्रमा देखिएका समस्या, त्यसको असर न्यूनीकरण तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा सहभागिताका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो ।
सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका प्रतिनिधिसमेत सहभागी हुने उहाँले बताउनुभयो ।
प्रदेशगत रूपमा कोशीका ७२, मधेसका ५८, बागमतीका ४६, गण्डकीका ६४, लुम्बिनीका ६२, कर्णालीका ३८ र सुदूरपश्चिमका ६६ स्थानीय तहले सहभागिताका लागि नाम टिपाएका छन् ।
जलवायु परिवर्तनका कारण हिमालदेखि तराईसम्मका स्थानीय तहले भोगिरहेका समस्या र चुनौतीबारे साझा धारणा निर्माण गरी जलवायु न्याय र क्षेतिपुर्तिको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । सम्मेलन सफल बनाउन मुस्ताङका अन्य चारवटा स्थानीय तहले समेत सहयोग गरिरहेका छन् ।
सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
















































































































































































