५ जेष्ठ २०८१, शनिबार

 

प्राविको अक्षय कोषमा चालिस लाख

बागलुङ/ जिल्लाको मल्म–७ स्थित प्रगति प्राथमिक विद्यालयमा विभिन्न दाताहरुले चालिस लाख रुपैयाँको अक्षय कोष खडा गरेका छन् । विद्यालयको रजत जयन्तीका अवसरमा देश–विदेशबाट अक्ष्य कोषमा रकम जम्मा भएको हो । विद्यालयका अभिभावक, शुभेच्छुक लगाएतले आफ्ना स्वर्गीय बुबा–आमा र प्रियजनको स्मृतिमा कोष स्थापना गरेका हुन् । त्यस्तो कोष राख्नेमा ७५ जना रहेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले कबुल गरे अनुसार अक्षय कोष बनेमा बढेर ५८ लाख पुग्ने बताउनुभयो । ‘४० लाख रुपैयाँको त कोष स्थापना भइसकेको छ, विद्यालयको रजतजयन्तीमा आएको प्रतिवद्धता अनुसार रकम प्राप्त भएमा त्यो बढेर ५८ लाख पुग्छ’ अध्यक्ष थापाले भन्नुभयो । गाउँमै अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको सो विद्यालयको शैक्षिक वातावरण सुधारको लागि स्थानीयले कोष राखेका हुन् ।

विद्यार्थी नभएर २०६६ सालमा एकीकरण प्रकृयामा पुगेको विद्यालयलाई गाउँलेले नै जोगाएर यहाँसम्म ल्याएको अध्यक्ष थापाको भनाइ छ । ‘विद्यालय बन्द हुन लागेको थियो, २०६६ मा १३ जना मात्र विद्यार्थी थिए’ अध्यक्ष थापाले भन्नुभयो ‘अहिले स्थानीयको पहलमा विद्यालय ‘नमुना’ बन्दै गएको छ, व्यवस्थापन पनि हामी खटेर लागेका छौं ।’ २०४७ स्थापना भएको विद्यालयमा अहिले ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

उहाँले विद्यालयमा स्थापना भएका अक्ष्य कोषबाट विद्यालयको भौतिक, शैक्षिक वातावरण निर्माणमा खर्च गरिने बताउनुभयो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर वृद्धिको लागि अक्ष्य कोष सहयोगी बन्ने विद्यालयका प्रधानध्यापक नगेन्द्र मल्लले बताउनुभयो । ‘तलवमा ठूलो रकम खर्च हुने गरेको छ, अक्ष्य कोषको ब्याजबाट शिक्षक, कर्मचारी व्यवस्थापनदेखि अन्य व्यवस्थापनमा कार्यमा खर्च हुनेछ’ उहाँले भन्नुभयो ।

अक्षय कोषबाट अन्य रचनात्मक कामहरु पनि गर्ने योजनामा विद्यालय रहेको छ । छिट्टै कम्प्युटर शिक्षालाई पनि सुरुआत गरिने जनाइएको छ । अँग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि सो विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ । अभिभावकको पनि विद्यालयप्रतिको भरोसा राख्न थालेका छन् ।

बागलुङ कक्षा १ देखि ५ कक्षा सम्म पढाइ हुने उक्त विद्यालयमा २ जना शिक्षकको मात्र दरवन्दी छ भने बाँकी ७ जना शिक्षक स्थानीय श्रोतबाट राखिएको छ । विद्यालयको दिगो व्यवस्थापन र गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि अक्ष्यकोषलाई बढाउँदै लैजाने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्