बारीको डिलमा
चरालाई भ्रम छर्न
बाली-नालीको रक्षक हुँ भन्ने
ति बुख्याचाहरु र
चिया पसल र चोकहरुमा
भ्रम छर्न ब्यस्त
शहरका बुख्याचाहरु ।
उस्तै उस्तै लाग्छ मलाई
चारोको खोजीमा जाँदा
जसरी तर्सिन्छ एक चरी
त्यो भ्रमित बुख्याचासँग
त्यसैगरी तर्सेको छ
एउटा बालक
शिक्षा दिने भनी
खोलेको ब्यापारिक केन्द्रमा
उभिएको प्रिन्सिपल बुख्याचोसँग ।
यदा कदा बारीमा
चाहार्न आउने
किसानको रमिते बन्दै,
घाम, पानी र
असिनाको वास्ता नगरी
केवल ढुकुर, बट्टै, भँगेरा र कालिज तर्साएर
भ्रम छर्छ त्यो
बारीको बुख्याचो
त्यसैगरी
प्रसव पिडामा छट्पटिएकी
एक आमालाई
तर्साउँछ काँदमा
स्ठेथिसकोप बोकेको
मेडिकल माफियाको
सेतो कोटधारी बुख्याचो ।
सीमाको सुरक्षामा
खटिए जस्तो गरेर
पाले पहरा दिईरहने
किसानको मन जित्न
कत्ती नथाकी हात उचाल्ने
बारीको बुख्याचो
जस्तै लाग्छ मलाई
चुनाव आउनै लाग्दा
मार्इक उचाल्दै
घोक्रो फुलाउँदै
अभिवादनको हात उचाल्ने
त्यो नेता बुख्याचो ।
ठ्याक्कै उस्तै लाग्छ
चोयाको दुई हात-खुट्टा
नचल्ने बारीका बुख्याचाहरु
आनी बोल्न मुख चल्ने
काम गर्न हात-खुट्टा नचल्ने
शहरका सुकिला बुख्याचाहरु !
-सुनिल पाण्डे (पोखरा )













































































































































































































