३ श्रावण २०८३, आईतवार

 

शहर,रहर र कहर (कविता)

- ध्रुव गिरी

 

शहर,
रहरको पुञ्ज हो
र,होइन त्यत्ति मात्र पनि
यो कहरको झुण्ड पनि हो,
जहरको कुण्ड पनि।
दिनसंगै रातमा पनि जाग्छ शहर,
बेनामसंगै इमान पनि माग्छ शहर
स्वभाविक अस्वभाविकको प्रश्न होइन
मागसंगै गर्छ ठहर
यो झिलमिल रंगीन शहर,
बाहिर जस्तो मात्र छैन
महंगीको सगरमाथामा,
कति चिजको सस्तो पनि छ
ब्यापारिक आर्थिक केन्द्र पो होत यो,
यहाँ नबिक्ने पनि बिक्छ
नसिक्ने पनि सिक्छ
यो शहरको गल्ली र हल्लीखल्लीमा
डार्विनको सिद्धान्त ,र
तार्पिनको आक्रान्त चल्छन् हजुर
बिकेको र सिकेको टिक्छ
आँगन टेढो भनेर नाच्न नजान्ने बबुरो,
लत्रिन्छ,
अनि मिल्किन्छ
जसरी अचेल रिल भएको क्यामेरा चल्दैन ,
त्यसरी नै दिल भएको मान्छे ,र
सेल्फी नहान्ने सेल्फिस्
किञ्चित ढल्दैन।
धेरैका देखिने खुसी भित्र
यो शहरमा,
ब्यथा ,कथा र संघर्ष हुनसक्छ
इमान बेचेका कतिका वृतान्तले पनि मन छुनसक्छ
कोही हाँसी हाँसी मच्चिंदा यो शहरमा
कोही भित्र मुण्टो घुसाएर रुनसक्छ
पानी ,जवानी र कहानी सबै बिक्ने यो शहरमा
रछ्यान,ओछ्यान र मचान सबै पाइन्छन्
कसैका चाह तुष्टीका लागि,
कसैका जीवन सुकाईन्छन्
झन झन बुझ्यो झन कठीन छ यो शहर,
रंगीन सपना सजाउने नाममा
कैयन कोपिला चुँडाईन्छन्,
कैयन तिक्डम लुकाईन्छन्
रहर,कहर र जहरको अद्भुत संगम हो शहर
यहाँ अनेक मुकाम देखाईन्छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung