३ श्रावण २०८३, आईतवार

 

सत्ता टिकाउन बोकाको बलि किन ?

राजेशचन्द्र राजभण्डारी

नेपालमा सरकार फेरबदल भै रहने विषय नेपाली जनताको लागि अब त्यति अनौठो कुरा रहेन । जबजब देशमा सरकार परिवर्तन भएर नयाँ सरकार प्रमुख प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुन्छन्, तबतब प्रधानमन्त्रीको पहिलो काम भनेको बालुवाटार प्रबेश गरेपछि बोकाको बलि दिने हुन्छ ।जतिपटक सरकार परिवर्तन हुन्छ, नयाँ प्रधानमन्त्रीले धार्मिक मान्यता लाई अगाडि सार्दै ज्योतिषको सल्लाह अनुसार शुभ साइद हेर्दै कालो बोकाको बलि चढाउने परम्परा अझै सम्म कायम छ ।

हालै मात्र चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभएका शेरबहादुर देउवाले आफु देशको प्रधानमन्त्री घोषणा भएको केही दिनपछि बालुवाटारमा प्रबेश गर्ने क्रममा धार्मिक विधि अनुसार पुजा पाठ गरि कालो बोकाको बलि चढाएको कुरा सार्वजनिक भएको छ । यस अगाडि पनि पटकपटक प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाले बालुवाटार प्रबेश गर्दा धार्मिक विधि अनुसार कालो बोकाको बलि नदिएको पनि अवश्य हैन तर उनी नेपालको इतिहासमा पटकपटक असक्षम घोषणा हुने एक्लो ब्यक्ति पनि हुन् भन्ने कुरा नेपालको राजनीतिमा रूचि राख्ने सामान्य मान्छे लाई समेत थाहा भएको बिषय नै हो ।

नेपाली राजनीतिका चर्चित खेलाडी को रूपमा चिनिने देउवाले नेपाली धर्म परम्परा संस्कृति अनुसार कालो बोकाको बलि चढाउदा पनि उनको सत्ता र सरकार किन टिक्न सकेन प्रमुख प्रश्न यहि हो । खोट कहाँ नेर हो भन्दा पनि हाम्रो सोच मै खोट भएको कारणले पनि अहिलेसम्म कालो बोकाको संस्कृति भने कायम नै छ । हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भैंसी पुजा गरेर नेपालमा मात्रै होइन बिश्वभरी चर्चित बन्न पुग्नु भएको थियो ।

नेपालका पर्व राजा ज्ञानेन्द्र शाहको दक्षिण काली दर्शन धार्मिक भ्रमण पनि बेला बेलामा चर्चामा आउने गरेको छ । अहिले देशमा सरकार कसरी बन्छ कसरी चल्छ अनि कसरी ढल्छ भन्ने कुरा अहिले भने घाम जस्तो छर्लङ्ग भएको छ । अहिले स्वदेशी प्रभु भन्दा बिदेशी प्रभु नै शक्तिशाली भएको देखिन्छ । नेपालमा राजतन्त्र हुदा सम्म राजनीति कमाण्ड नेपाली प्रभुको हातमा थियो भन्ने चलन थियो ।अहिले फेरि स्वदेशी प्रभुको अबसान भए पछि अहिले हाम्रो नेपालको राजनीति पुरै बिदेशी प्रभुको हातमा पुगेको छ ।

२००७ को परिवर्तन होस कि २०४६ सालको बहुदलीय ब्यबस्था ल्याउन समेत प्रभुकै भुमिका २०६२, ६३ को जन आन्दोलनमा समेत छिमेकी प्रभुले नै भुमिका खेलेको कारण अहिलेसम्म सबै क्षेत्रमा उसले आफ्नो स्वामित्व खोज्दै आएको छ । हाम्रो देशमा कसलाई प्रधानमन्त्री बनाउने कसलाई गृहमन्त्री कसलाई रक्षामन्त्री बनाउने अर्थ मन्त्री बनाउने खेल सबै प्रभुले नै गर्दै आएको कारण देशमा सरकार परिवर्तन हुना साथ पहिलो बिदेश भ्रमण भारत कै हुने गर्छ ।

आफु सरकार र शक्तिमा पुग्नको लागि प्रभुको तपस्या गर्छन् अनि बल्लतल्ल आर्शिबाद पाउन सफल हुन्छन् अनि पहिलो काम भनेको प्रभु रिझाउने नै हुन्छ । जे जस्तो भए पनि आफु सरकार प्रमुख बन्न सफल भए पछि पशु बलि नदिदा सम्म मनलाई सुख मिल्दैन अनि सबै आफ्ना निकतका नातेदार बोलाएर धार्मिक विधि अनुसार पण्डित राखेर पुजा अर्चना गर्नुका साथै बोकाको बलि चढाउने चलन कम हुदै जानुपर्ने हो तर अहिले यो चलन झन बढेर गएको देखिन्छ ।

सरकार चल्नु र ढल्नु संग बोका बलिको के कस्तो सम्बन्ध छ भन्ने कुरा न त चल्ने लाई थाहा छ न त ढल्ने लाई नै थाहा छ ।तर पनि देशमा सरकार प्रमुख फेरिए पछि भने हाम्रो नेताको कुर्सी जोगाउनको लागि जहिले पनि बोकाले बलिदान गर्नु परेको छ । बोका पनि रातो सेतो खैरो भएर नहुने निखरा कालो नै चाहिने पुरानो मान्यता अझै कायमै छ । शक्ति र सत्ता भनेको अचम्म चिज रहेछ कहिले माओवादी आतंकवादी घोषणा हुन्छ, कहिले त्यो संग १२ बुँदे सहमति समेत प्रभुकै निर्देशन भएको खुलासा हुन्छ, कहिले पशुपतिनाथको पुजारी फेर्ने लफडा मच्चिन्छ, कहिले सेनापती प्रकरण चल्छ, सबै–सबै प्रभुकै इसारामा चल्छ ।

हामी र हाम्रो देशका नेताले त्यसलाई चुपचाप हेरेर बस्नु भन्दा अहिलेसम्म केही गर्न सकेका छैनौँ । अहिले देशमा राष्ट्रबादी नारा चल्ने गरेको छ, देशमा सरकारले नयाँ संबिधान घोषणा गरेपछि छिमेकी भारत संविधान प्रति असहमति जनाउँदै नाका बन्दी गरेर नेपाली जनतालाई दुख दिने काम भएको कारणले पनि अहिले नेपाली जनतामा राष्ट्रबादी भावना बढेर गएको हो । अहिलेसम्म छिमेकीको चित्त बुझेको छैन । हाम्रो देशको संबिधान अहिले पनि मधेसी दलको असहमति छ । अहिलेसम्म उनिहरूको आन्दोलन जारी छ । एकै चरणमा सम्पन्न हुने निर्वाचन तीन चरणमा पुगेको छ । पटकपटक प्रभुका दासहरूको भाखा फेरिन्छ ।

अनि नयाँ–नयाँ माग थपिन्छ । जतिसुकै मनाउन खोजेपनि दासहरू टसका मस हुदैनन् प्रभुको इसारा नपाएसम्म दासहरूले के बोल्ने कुनै हैसियत देखिदैन । अहिलेसम्म हामीले जतिसुकै स्वतन्त्र देश भनेर घमण्ड गर पनि साच्चै ब्यबहारमा भने त्यो देखिदैन । सरकारमा पुग्न शक्तिशाली बन्न प्रभुको चाकडी चाप्लुसि गर्ने सरकार बाहिर भएको बेलामा भारतको बिरोध गर्ने अनौठो खालको राष्ट्रवाद हामीसंग भएको कारणले पनि अहिलेसम्म प्रभुको दबाब प्रभाव र हस्तक्षेप कायमै छ ।

अहिले हामी २१ औँ शताब्दीमा भए पनि हाम्रो सोच बिचार भने पुरानो भएको मात्र हैन प्रभु बिना हाम्रो केही पनि चल्दैन भन्ने सोच कै कारणले पनि काम गरेको देखिन्छ ।अहिले जसरी पनि सरकारमा पुग्न तन्त्र मन्त्र, ज्योतिषदेखि जोगी स्वामि सबैकोमा पुग्ने ध्यान गर्ने हातका औला भरी तान्त्रिक औठी लगाउने चलन अझैसम्म कायमै छ । देशमा अहिले संघिय गणतन्त्र भए पनि दिमागमा भने पुरानो सोच नै कायम भएको कारण पनि कालो बोका बलिदिने चलनको अन्त्य नभएको हो । अब कालो बोकाको बलि किन दिने भन्ने बारे बहस चलाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung