गायक तथा संगीतकार रामेश श्रेष्ठले जनताको दुःख र अधिकारको गीत गाउँदै आएका छन् । सार्वजनिक मञ्चमा जाँदा उनी कुनै दलविशेष भन्दा पनि जनतालाई नै केन्द्रमा राखेर गीत गाउँछन् । ‘संघर्ष हो जीवन’, ‘आऊ मिलाऔं हाम्रा हातहरु’ जस्ता गीतबाट सबैमा जागरण फैलाउँछन् ।
उनको प्राथमिकताको केन्द्र नै जनता र देश हो । उनले राज्य र सत्ताबाट कहिल्यै कुनै सेवा लिएनन् । जनताको दु¬ख र अधिकारका गीत नै उनले गाउने गरेका छन् । स्वाधीन र समृद्ध मुलुक उनको आदर्श हो । नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा उनका गीतले उर्जा भर्ने गरेका छन् ।
उनै गायक तथा संगितकार श्रेष्ठसँग आईतबार बागलुङमा सम्बाद कार्यक्रम हुँदैछ । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकम अनलाईन पत्रिकाले कार्यक्रम गर्न लागेको हो । उनी पञ्चायतको शासन भएका बेला विसं २०४० सालमा गायनकै सिलसिलामा बागलुङ आएका थिए ।
तत्कालिन शासकले जनताका गीत गाउन नदिने भएकाले उनी रेडक्रस अभियन्ता भएर आएका थिए । त्यसबेला झण्डै डेढ घण्टा जनतालाई जागरुक गर्ने असमानता विरोधि गीत गाएको उनी अहिले पनि स्मरण गर्छन् । योगेन्द्र पन्तले त्यो कार्यक्रमको संयोजन गरेका थिए । विसं २००१ सालमा पाल्पाको तानसेनमा जन्मिएका रामेशको पुख्र्यौली थलो भने ओखलढुङ्गा हो ।
वुवा जागिरको सिलसिलामा पाल्पा हुँदा उनी त्यहीँ जन्मेका हुन् । सुरुमा रेडियो नेपालमा गीत सुनेर संगीतप्रति उनको रुचि बढ्दै गयो । उनले १७ बर्षको उमेरमा पहिलो पटक तेह्रथुममा भएको सार्बजनिक कार्यक्रममा गीत गाएका थिए । २०१९ सालमा रेडियो नेपालमा गीत गाउन पुगेक उनको संगत नाती काजी, शिवसंकर, रामलाल जोशी र पारिजातसँग भयो ।
उनले तीन बर्षसम्म रेडियो नेपालमा गीत गए । २०२३ सालमा पारिजात, रायन र मञ्जुलसँग मिलेर राल्फा समुह गठन गरेर जनपक्षिय संगीत अभियानलाई अघि बढाए । २९, ३० साल तिर तत्कालिन नेकपा माले पार्टीसँग नजिक भएर संकल्प परिवार गठन गरे । ३९ सालसम्म माले निकट नै रहेर गीत गाएका थिए ।
त्यसपछि स्वतन्त्र रहेर स्वर्णीम स्कुल काठमाण्डौमा शिक्षण गरे । ४६ सालमा जनताको गीत गाउन आस्था परिवार गठन गरे । २०७० सालमा उनको अगुवाईमा सार्थक संगीत प्रतिष्ठान गठन भयो । प्रतिष्ठान मार्फत उनीहरु बालबालिका तथा नारी, उत्पिडित बर्ग, समुदाय गीत तथा जनअधिकारका गीत गाउँछन् । यी गीतलाई उनीहरु सार्थक संगीत भन्ने गरेका छन् ।
उनले गाएका धेरै गीत निकै चर्चित छन् । गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, तिमी देउ तिम्रा हातहरु, जोगीलाई भिक्षा छ, मेरो प्यारो ओखलढुङ्गा, गाई त बाँध्यो ढुंग्रोमा, विहानीको लाली झैँ मानिसहरु जुर्मुराउँदै उठ्दैछन्, स्कुलमा मात्र हाईन घरमा जाँच हुन्छ, बाटो घाटो हिँड्दाखेरी मानिसको जाँच हुन्छ, यी चर्चामा रहेका केहि गीत हुन् ।
श्रेष्ठले लक्ष्मीप्रसाद देबकोटा, लेखनाथ पौडेल, पारिजात, सिद्धीचरण श्रेष्ठ, गोकुल जोशी, मञ्जुल, श्याम तमोट, चन्द्र भण्डारी, प्रमोद हमालले लेखेका गीतमा संगीतसँगै स्वर दिएका छन् ।













































































































































































































