नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र कार्यदिशामार्फत पुष्पलालले नेपाली वाम आन्दोलनलाई नयाँ दिशा दिए । पञ्चायती कालरात्रिमा भारतमा निर्वासन जीवन बिताउँदा नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनलाई एकताबद्ध बनाउने यात्रामा खटिरहेकै वेला ७ साउन, ०३५ मा उनको निधन भएको थियो । पुष्पलालसँग नजिक रहेकाहरूमध्ये एक हुन्, वाम नेता गोविन्द ज्ञवाली । १० वर्षसम्म पुष्पलालसँग एउटै कोठामा समय बिताएका ज्ञवालीले उनको जीवनको आखिरी घडीसम्म पनि साथ छाडेनन् । उनै ज्ञवालीले पुष्पलालका अन्तिम सपना र अधुरा अपेक्षाबारे नयाँ पत्रिकाका शुरोजंग पाण्डेलाई सुनाएका छन् :

नेपालको प्रजातान्त्रिक आन्दोलन कसरी सफल बनाउन सकिन्छ भन्नेमा उहाँ सधैँ चिन्तित देखिनुहुन्थ्यो । निरन्तर सक्रिय रहने उहाँको स्वभाव थियो । पार्टी संगठन कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ०३२ मा उहाँ र म बनारसबाट दरभंगा पुगेका थियौँ ।
दरभंगास्थित दरभंगा मेडिकल कलेजमा उहाँका घनिष्ट मित्र बिएन सिंहको क्वार्टरमा हामी थियौँ । त्यहीवेला उहाँलाई एक्कासि ‘हर्ट अट्याक’ भयो । मेडिकल कलेजपरिसरमै भएकाले तत्काल उपचार सम्भव भएकाले उहाँ निको हुनुभयो । तर, त्यसपछि मुटुमा समस्या पर्ने भन्दै डाक्टरले उहाँलाई भातको सट्टा दाल, रोटी र हरियो साग खान सुझाब दिएका थिए । स्वास्थ्यप्रति निम्तिएको जटिलतापछि पनि उहाँ निरन्तर पार्टी निर्माण र नेपालमा संयुक्त जनआन्दोलनमार्फत लोकतन्त्र स्थापना गर्ने अभियानमा डटिरहनुभयो ।
०००
०३५ को सुरुदेखि भने उहाँको स्वास्थ्यमा अलि बढी नै समस्या देखियो, उहाँ बिरामी पर्नुभयो । जेठ महिनाभरि नेपालको पूर्वाञ्चलमा पार्टीको संगठन विस्तार र सुदृढ गर्ने योजनाअन्तर्गत दरभंगामा राखिएको बैठकमा सहभागी हुन बनारसबाट पुष्पलाल स्वास्थ्यको ख्यालै नगरी बिरामी अवस्थामै हिँड्नुभयो । उहाँ बैठकमा सहभागी भइरहनुभएको होला भन्ने मलाई लागेको थियो । तर, बैठकमा सहभागी हुन हिँड्नुभएको १२–१५ दिनपछि सिकिस्त बिरामी पर्नुभएको र तत्काल लिन आउनुपर्ने खबर आकाशवाणी सेवामार्फत आयो । जतिसक्दो छिटो अस्पताल लानुपर्ने खबरपछि म उहाँलाई लिन तत्काल दरभंगा पुगँे । डाक्टर बिएनले टिकटको व्यवस्था गर्दिनुभयो । उपचारका लागि उहाँलाई लिएर म सीधै दिल्ली पुगेँ । सुरुमा उहाँलाई राममनोहर लोहिया अस्पतालमा भर्ना गरियो । तीन दिनको उपचारपछि चिकित्सकहरूले उहाँमा हृदयरोग रहेको पत्ता लगाए ।
पूरै निको हुन नसकेपछि सबैको सहयोग र सल्लाहमा पछि दिल्लीकै गोविन्द वल्लभ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरियो । त्यतिवेला सहाना कमरेड (सहाना प्रधान) दिल्लीस्थित काशी विद्यापीठमा ‘तेस्रो विश्वको अर्थ व्यवस्था’ विषयमा विद्यावारिधि (पिएचडी)का लागि सद्रो हाउस लाइब्रेरीमा अध्ययन सामग्री संकलनमा व्यस्त हुनुहुन्थ्यो । तर, पुष्पलाल गम्भीर बिरामी परेपछि अध्ययन छाडेर उहाँ पनि हेरचाहमा खटिनुभयो ।
०००
दुई महिनासम्म अस्पतालमा उपचारका लागि रहँदा पनि उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनकै चिन्ता गर्नुहुन्थ्यो । त्यसका लागि एउटा ‘नेपाली इतिहासको सर्वेक्षण’ पुस्तक यथाशक्य प्रकाशन गर्ने उहाँको ठूलो धोको थियो । उपचार सकिएर स्वस्थ हुनासाथ कोलकातास्थित ‘लाइब्रेरी’मा बसेर त्यो पुस्तक तयार गर्ने बताउने गर्नुहुन्थ्यो । अस्पतालमा उपचारमै रहँदा उहाँले मसँग पटक–पटक भन्नुहुन्थ्यो– निको भएपछि सबै काम छाडेर भए पनि म त्यो पुस्तक तयार पारेरै छाड्नेछु । नेपालको वास्तविक इतिहास अझै नलेखिएको र सत्य–तथ्यलाई बंग्याएर यहाँको सामाजिक चरित्र र बनोट नबुझीकनै विदेशीहरूले लेखेको पुस्तक पढ्नुपर्ने बाध्यताले नेपाली इतिहास र समाजकै गलत व्याख्या गरेको उहाँको बुझाइ थियो । त्यति मात्रै होइन, कतिपय लेखकले लेखेका इतिहासले पनि नेपाली समाजको सत्य उद्घाटित गर्न नसकेको भन्ने गर्नुहुन्थ्यो ।
वास्तवमा उहाँ निको हुनासाथ ‘नेपाली इतिहासको सर्वेक्षण’ पुस्तक लेखेर नेपाली इतिहासको पुनव्र्याख्या गर्न चाहनुहुन्थ्यो । त्यो पुस्तक लेखेर नेपालको प्रजातान्त्रिक आन्दोलनको सुस्पष्ट बाटो र भविष्य निर्धारण गर्न सकिने उहाँमा ठूलो आत्मविश्वास थियो । यद्यपि, उहाँको त्यो अन्तिम इच्छा भने पूरा हुन सकेन ।
०००
पुष्पलाल जीवनको अन्तिम घडीमा अस्पतालमा उपचाररत रहेकै वेला नेपालमा भने राजनीतिक घटनाक्रम नयाँ ढंगले अघि बढ्दै थियो । त्यतिवेला बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किसक्नुभएको थियो । भारतको बनारसलगायतका सहरबाट नेपाली नेताहरूले स्वदेशको राजनीति सञ्चालन गर्दै आएकामा बिपीको आगमनपछि नेपाली राजनीतिक परिवेश नयाँ ढंगले खोजेजस्तो आभास भइरहेको थियो, त्यसवेला । प्रजातान्त्रिक आन्दोलनमा नयाँ सम्भावना देखा पर्ने हो कि भन्ने सकारात्मक संकेतबीच पुष्पलालको स्वास्थ्यमा पनि सुधारको लक्षण देखिएपछि म उहाँको उपचारपछि बनारस फर्किएँ । तर, फर्किएको सात दिनकै बीचमा उहाँको देहान्त भयो । उहाँको अन्तिम योजना किताब लेख्ने, सुस्पष्ट विचारसहितको पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीको नेतृत्वमा छरिएर रहेको आन्दोलनलाई संयुक्त रूप दिई लोकतन्त्र स्थापना गर्ने थियो । त्यसबाट मात्रै नेपालको समस्या समाधान हुने र दिगो विकासको दिशामा अघि बढ्न सक्ने उहाँमा दृढ आत्मविश्वास देखिन्थ्यो । अस्पतालमा उपचारकै वेला मलाई भन्नुहुन्थ्यो– संयुक्त जनआन्दोलन सफल भयो भने नेपालमा समाजवादउन्मुख संविधान बनाउन सकिन्छ र त्यो संविधानले नेपाली जनताको समस्या समाधान गर्दै मुलुकलाई धेरै अघि बढाउन सकिन्छ ।
बिपी र पुष्पलाबीच राजनीतिक र वैचारिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध निकै राम्रो थियो । वैचारिक मतभेद भए पनि १० वर्षसम्म एउटै कोठामा बस्दा बिपीले पुष्पलाललाई कहिल्यै नराम्रो व्यवहार गरेको मैले पाइनँ । बिपी १७ पुस ०३३ मा स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किनुभन्दा ठीक पाँच दिनअघि बिपी र पुष्पलालबीच सारनाथमा अन्तिम भेट भएको थियो । त्यसक्रममा उहाँहरूबीच नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा केन्द्रित रहेर लामो कुराकानी पनि भयो । पुष्पलालले बिपीलाई सम्झाउँदै नेपाल नफर्किन धेरै आग्रह पनि गर्नुभयो । तर, बिपीले भने नेपाल फर्किनुको कारण प्रस्ट्याउँदै आफ्नो स्वदेश फिर्ती राजासँग समर्पण र संघर्ष दुवै नभएर बीचको बाटोबाट हिँड्ने उद्देश्यबाट हुन लागेको बताउनुभयो । त्यसवेला बिपीको प्रस्ट सन्देश थियो– यदि हामी नफर्किने हो भने नेपालमा ठूलो राष्ट्रिय संकट विकसित हुने सम्भावना छ, त्यो संकट निवारणका लागि पनि स्वदेश फर्किनैपर्ने बाध्यता छ । बिपीले पुष्पलाललाई पनि आग्रह गर्दै भन्नुभयो– बरु, तपाईं पनि विचार गर्नुस्, सम्भव भएसम्म नेपाल फर्किएरै बीचको बाटोबाट अघि बढ्दा राम्रो हुन्छ । तर, त्यतिवेला पुष्पलालले तत्कालका लागि भारतमै बसेर प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्न सकिने धारणा राख्दै भावी दिनमा गर्ने आफ्ना योजना सविस्तार प्रस्ट्याउनुभयो । ‘म यहीँ (बनारस) बसेर नै आन्दोलनका लागि पार्टी निर्माण गर्छु । त्यो काम भएन भने पनि कोलकाताको लाइब्रेरीमा बसेर ‘नेपालको ऐतिहासिक सर्वेक्षण’ पुस्तक लेख्ने बाँकी काम पूरा गर्नेछु । त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको दिशा निर्धारणमा पनि सहयोग पुर्याउने विश्वास छ ।
०००
अन्तिम अवस्थामा सहानाजी पुष्पलाकै साथमा हुनुहुन्थ्यो । हामी पालो गरेर उहाँको हेरचाहमा खटिएका थियौँ । उहाँ दिनभर अस्पतालमा हेरचाहका लागि खटिनुहुन्थ्यो, मचाहिँ बेलुका अस्पताल बस्थेँ । स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि अन्तिम घडीमा पुष्पलालको मनोबल उच्च थियो । यद्यपि, उहाँले आफ्नो भौतिक शरीर नरहे पनि आफूले पूरा गर्न नसकेको काम सहानाजीको नेतृत्वमा पूरा होस् भन्ने चाहना अस्पतालमा रहँदा व्यक्त गर्नुहुन्थ्यो । मलाई समेत साथमा राखेर पुष्पलालले एक दिन सहानाजीलाई भन्नुभयो– सहाना, अब रोकिएका काम तिमीले पूरा गर्नु है ! त्यसवेला सहानाजी पनि धेरै भावुक बन्नुभयो । सायद पुष्पलालको अन्तिम वाक्य नै यही थियो, ‘सहाना, अब बाँकी काम तिमीले पूरा गर्नु है ।’
पुष्पलालको निधनपछि यमुना नदीमा अन्तिम संस्कार भयो । अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा त्यसवेला सहानाजीले व्यक्त गरेको प्रतिबद्धता म सम्झिरहन्छु । अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा उहाँले प्रतिबद्धता जनाउँदै भन्नुभएको थियो– पुष्पलाल, अब म तिमीले भनेका अधुरा काम पूरा गर्ने बाटोमा लाग्नेछु । तिमीले बाल्दै हिँडेको प्रजातन्त्रको ज्योतिलाई नेपालभरि फैलाउन सबै समय लगाउनेछु । निकै भावुक बनेर सहानाले जनाएको त्यो प्रतिबद्धताले अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित सबैलाई भावुक बनाएको थियो ।
०००
गोविन्द वल्लभ अस्पतालमा पुष्पलाल उपचार गराइरहँदा कांग्रेस नेता गणेशमान सिंह, शैलजा आचार्यलगायतले पटक–पटक भेट गर्नुभएको थियो । पुष्पलालप्रति उहाँहरूको निकै ठूलो सम्मान थियो । साथै, नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस नेताहरूले पुष्पलालप्रति निकै ठूलो भरोसा राख्नुहुन्थ्यो, त्यसवेला । उहाँको उपचारमा सहयोगका लागि भारतीय नेताहरूले अस्पतालमै भेटेर धेरै प्रयास गर्नुभयो । तर, उहाँले बारम्बार नेपाली जनताले नै उपचार खर्च जुटाएको र सहयोग आवश्यक नरहेको जवाफ दिनुभयो । उहाँले जवाफ दिनुहुन्थ्यो– अहिलेलाई आवश्यक छैन, तर परेको खण्डमा म तपाईंहरूबाट सापट लिनेछु । खासमा सहयोगभित्र स्वार्थ लुकेको हुन सक्छ भन्ने कुराप्रति उहाँ धेरै सतर्क देखिनुहुन्थ्यो । त्यतिवेला सत्तारुढ पार्टी कंग्रेस आईका अध्यक्ष चन्द्र शेखरले उपचारका लागि आर्थिक सहयोगको अफर गर्नुभयो, तर पुष्पलालले भन्नुभयो– मलाई अहिलेलाई सहयोग आवश्यक छैन, बरु नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति तपाईंहरूको नैतिक सहयोग आवश्यक छ, आर्थिक होइन । आवश्यक पर्यो भने सापटी लिने नै छु ।
नयाँपत्रिकाबाट













































































































































































































