शिवशरण ज्ञवाली
अन्ततः विवेकशील पार्टीको साझा पार्टीमा विलय भएको छ र नयाँ पार्टी बनेको छ, विवेकशील साझा पार्टी । पूर्व पत्रकार रवीन्द्र मिश्रले विवेकशीलमाथि आक्रमण थालेको छोटो समयमै उसलाई आफ्नो पार्टीमा विलय गराउन सफलता पाएका छन् । विवेकशील बिना होहल्ला र कसैको अनुकरण (आम आदमीको नक्कल) बिना स्थापित भएको पार्टी थियो, उसले दाबी पनि गरेको थिएन, म नयाँ गर्न आएको भनेर । उसले ससाना राम्रा काम गर्ने कोसिस गरेको थियो ।
उसले कहिल्यै पनि आफूलाई वैकल्पिक पार्टी भनेर दाबी गरेको पनि सुनिएन । विवेकशीलमा परीक्षण नभएका र नवचेतनाले युक्त युवाहरु देखिएका थिए । रन्जु त्यसैको उदाहरण हुन् । नाममै जस्तै उनीहरुले आफ्नो विवेक प्रयोग गरेको देखिएको थियो । २०७२ को भूकम्पपछि उसले गरेको सहयोग अन्यको तुलनामा बढी प्रभावकारी देखियो ।
यो हिसाबले हेर्दा त्यो पार्टी बढी व्यवाहरिक पाटोतिर गएर आफूलाई खरो उर्तान प्रयत्न गरेको देखिन्थ्यो । तर होहल्लाका माझ आफ्नो पत्रकारिताको पपुलारिटीलाई प्रयोग गरेर रवीन्द्र मिश्रले साझा पार्टी स्थापना गरे । पत्रकारिताबाट व्यक्तिगत उन्नति गर्ने सफलता पाए पनि नेपाली पत्रकारिताको स्कुलमा रवीन्द्रको खासै योगदान छैन । अवसर पाउँदा युवाहरु विदेश पलायन भएका प्रशस्त उदाहरण छन् तर रवीन्द्र स्वदेश फर्किए । विदेशी सञ्चार माध्यममा पनि नेपाली भाषाकै कार्यक्रम चलाए । विदेश बसेर नेपाली राजनीतिलाई गाली गरेनन् बरु सपार्छु भनेर लागेका छन्, यो उनको सबैभन्दा राम्रो पक्ष हो । तर बिहानले दिनको संकेत गर्छ भनेझै उनीबाट आशा गर्ने ठाउँ धेरै छैन । उनको पार्टीमा पेन्सनरहरु नेतृत्वमा छन् । मिश्र स्वयं र किशोर थापा त्यस्तै उदाहरणहरु हुन् ।
पेन्सनरहरु जसले आफ्नो जीवनकालमा आफू लागेको क्षेत्रमा राम्रो काम गर्न सकेनन्, जो असफल सिद्ध भए, उनीहरुबाटै के अपेक्षा गर्ने ? सुनियो, वैशाख ३१ गतेको स्थानीय तहको पहिलो निर्वाचनमा साझा पार्टीले विवेकशीलसँग तालमेलको प्रस्ताव गरेको थियो । । नयाँ बोतलमा पुरानै रक्सीलाई विवेकशीलले अस्वीकार गरेर आफ्नो विवेक प्रर्दशन ग¥यो नभए मिश्र काठमाडौंका मतदातालाई मतदानमा पनि ‘सिन्डिकेट’ खडा गर्न चाहन्थे, विवेकशीलको कारण त्यसो हुन सकेन । मतदाताले स्वविवेक प्रयोग गर्ने अवसर पाए ।
अर्को कुरा एकीकरणको आवश्यकता नै किन थियो । यो पुराना पार्टीहरुको देखासिकी बाहेक अर्थोक केही होइन । पार्टीको नाममा जुगाँको लडाई सहजै देखिन्छ । ‘साझा विवेकशील पार्टी’ नाम राखेको भए त्यो ज्यादा उपयुक्त हुन्थ्यो । सबै मानिसहरुको साझा विवेकशील भन्ने हुन्थ्यो तर उल्टो भयो र नाम ‘विवेकशील साझा पार्टी’ बनेछ । पार्टीको नेतृत्व समेत रवीन्द्र मिश्र र उज्जवल थापा दुई जनाले गर्ने भन्ने कुरा आएको छ ।
एउटा साझा नेतृत्व समेत चयन गर्न नसक्ने कथित पार्टीबाट के अपेक्षा गर्ने ? अनि वैकल्पिक पनि कसरी भयो त्यो पार्टी ? वैशाखको चुनावपछि रवीन्द्रको आक्रमण विवेकशीलमाथि अझ ज्यादा हुँदै अन्ततः विवेकशील साझामा विलयको तहमा पुग्यो । साझा त भएनवादीहरुको एउटा साझा मञ्च बन्न पुगेको थियो, अरबिन्द केजरीवालको आम आदमीको छाता ओढ्ने असफल प्रयत्न गरेर । दुःखको कुरा त्यसमा विवेकशीलको अवसान भयो । तसर्थ सिद्धान्तविहीन भुलभुलैमा जनतालाई भुलाउने पेन्सनहरुको रहर भने लामो टिक्ने देखिन्न ।













































































































































































































