
राजेशचन्द्र राजभण्डारी
अहिले नेपाली महिलाको महान चाड तीज पर्वले बागलुङलाई धपक्क ढाकेको छ । तीजकै दिन माईत गएर घरतर्फ फर्कदै गर्दा बागलुङ सिगानाका एकजना महिला रूपा गौतमको बिच सडकमै हत्या भएको घटना अहिले पनि सबैको सामुन्ने ताजै छ । रूपाको हत्या भएको पनि
अहिले ठिक ३ वर्ष पूरा भै सक्यो । तर आजका दिनसम्म आइपुग्दा पनि हत्यारा लाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अनुसन्धान अहिपनि जारी छ । हत्यारा खोज्ने काममा प्रहरी प्रशासनले कुनै कसर बाँकी नराखेको कुरा सुन्दा रूपाको हत्यारा आजै फेला पर्छन् कि झै लाग्छ । तर प्रहरी प्रशासन यो मामिलामा पुरै असफल देखिन्छ । किनभने दिन दाहदै मध्यपहाडि लोकमार्गको बिच सडकमा घर तर्फ हिडिरहेका एक महिला खुकुरी प्रहार गरेर हत्या हँुदा समेत हत्याको सुराकसम्म पत्ता लगाउन नसक्नु अवश्य पनि ठुलो कमजोरी हो ।
अहिले जताततै तीजको रमझमले शहरदेखि गाउँसम्मलाई ढाकेको छ । यतिबेला हाम्रो चेलिबेटीलाई दर खान र नाच गान गर्न भ्याई नभ्याइ छ । हङकङको सारिले नेपालको धुलो उडायोदेखि हिन्दी, अङ्ग्रेजी, गीतमा कम्मर मर्काई मर्काइ नाच्ने दिदिबहिनीले अहिले त परार साल तिजको दिनमा बिच सडकमा मारिएकि रूपा गौतमको स्मरण गर्न पनि फुर्सद छैन । कतिपयलाई त रूपा हत्याकाण्ड के हो भन्ने सामान्य जानकारी समेत छैन होला । हो त नि हाम्रो समाज पनि कति स्वार्थी र मतलबि छ, त्यो भनेर पनि साध्य छैन ।
नेपालमा महिला अधिकार, मानव अधिकारको बारेमा काम गर्ने वकालत गर्ने दर्जनौं सँघ सस्था नभएको भने होइन तर पनि अहिले सबै चुपचाप देखिन्छन् । हुनत शुरू शुरूमा जिल्ला प्रहरी कार्यालय गएर रूपाको हत्याकाण्ड को छानबिन देखि अपराधी लाई पक्राउ गर्न दबाब दिएको हो । तर पनि प्रहरीले रूपाको हत्याकाण्ड को नजिक नजिक पुगेको बताए पनि आजको दिन सम्म आइपुग्दा रूपा हत्याकाण्ड बारे केही प्रगति हात लागेको भने छैन ।
गाउँदेखि शहर सबैको दबाब हुदा समेत रूपा प्रकरणमा भने प्रहरी अनुशन्धान ले फेल खाएको हो कि भन्ने आशंका बढेको छ । ठूलो बल तागत लगाएर रूपा को हत्याकाण्ड को पर्दा फास गर्न खोजेपनि त्यो सफल भएन तर अनुसन्धान मै रहेका तत्कालीन डिएसपी प्रेम बस्नेत सरूवा भएर जानू भएपछि रूपा हत्याकाण्डको अनुसन्धान प्रहरीले गरि रहेको छ ।
बागलुङ सदरमुकाममा त प्रहरीले पैसा खाएर रूपा हत्याकाण्ड ढिसमिस पारेको चर्चा नचलेको पनि होईन । जेजति चर्चा चलेपनि प्रहरी प्रशासन भने त्यो कुरामा कुनै सत्यता नभएको बताउँदै आएको छ । बागलुङ सदरमुकाम भित्र बिच सडकमा एकजना महिला मुला काटे झै काटिँदा पनि हाम्रो प्रहरी प्रशासनले सामान्य सुराकसम्म पाउन नसक्नु बिडम्बनानै मान्नुपर्छ ।
एकजना सामान्य व्यापार व्यवसाय गरेर खाने महिलाको को सँग के दुश्मनी हुनसक्छ । तीज पर्वमा माईत गएर आफ्नो आमा बाबुसँग भेटघाट गरि तीजको दर खाएर घर फर्केकी रूपा लाई के थाहा, आफुलाई मार्ने षड्यन्त्र भैरहेको छ भन्ने । सायद त्यो कुराको छनक पाएको भए रूपा किन हिडेर जानेथिईन् होला ? अवस्य पनि उनी जाने थिएनन् ।
सडकमा हिड्न समेत शान्ति सुरक्षा छैन । एकजना मान्छे घरबाट गन्तव्यसम्म सुरक्षित रूपमा पुग्छ भन्ने ठेगान छैन । अहिले पनि दण्डहिनता मौलाएको छ । अपराधीलाई कारवाही गर्ने कानुन भएपनि त्यो सबै हात्तीको देखाउने दाँत भएको कारण पनि समाजमा अपराधका घटनाक्रम बढ्दै गएको देखिन्छ ।
जिल्लामा घट्ने आपराधिक घटनामा अनुसन्धान गरि अपराधी लाई प्रहरीले पक्राउ गरेर बेला बेलामा सार्वजनिक गर्दै आएको छ । तर सबैको चर्चा र चासोको घटनाको रूपमा रहेको रूपा हत्याकाण्ड लाई दुई बर्ष बितिसक्दा पनि पत्ता लगाउन नसकेको कारणले पनि स्मरण गर्न खोजेको हँु ।
रूपा हत्याकाण्ड यस पटकपटक महिला अधिकारकर्मीले मनाउने तीजको प्रमुख मुद्दा बन्न किन सकेन ? हुनत रूपा को मुद्दा पुरानो भएर होला । कि त तीजको रमझममा नाच्ने गाउने रमाइलो गरेर खाने बेला भनेर पनि होला । सायद यसपालिको तीजमा रूपाको बारेमा चर्चा सम्म नभएको कारण ।
देशमा सरकार परिवर्तन हुने नयाँ सरकार बन्ने क्रम पनि चलिरहेको छ । रूपा हत्याकाण्डसँगै ६ वटा सरकार परिवर्तन भए । सबै सरकारले देश र जनताको लागि काम गर्ने भाषण गरे ।
हुनत रूपाको परिवारले हत्याकाण्ड बारे चासो नलिएको, अनुसन्धानमा सहयोग नगरेको गुनासो प्रहरी प्रशासनले बेला बेलामा गर्दै आएको छ । तर यसैलाई कारण बनाएर भने उम्कन मिल्दैन ।
बागलुङको प्रहरीलाई काम गर्न समस्या हो भने यो घटनाको सबै अनुसन्धान गर्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीलाई दिएर भए पनि रूपाको हत्यारा लाई कानुनी सजाय मात्रै होइन सबैले देख्ने गरि फाँसी दिनुपर्ने माग जिल्ला बासिले गरेकाछन् ।
प्रहरीले गर्न नसकेको महत्वपुर्ण र नेपालको चर्चित घटना समेत केन्द्रीय अनुसन्धान ब्युरो सिआईवीले पत्ता लगाएको छ । सर्बोच्च अदालतका न्यायाधीश रणबहादुर चन्द र रानिबारी हत्याकाण्ड लाई ढिलै भएपनि पत्ता लगाएको कारण केही आशा भने जिल्ला बासिलाई पलाएको थियो । तर सिआइवीले रूपा हत्या काण्डको अनुसन्धान थालेको पनि एक बर्ष बितिसक्दा समेत अझैसम्म केही हात लागेको छैन ।
हुनत केही घटना नजिक भए पनि नदेखिन सक्छ । सत्य तथ्य पत्ता नलागे सम्म प्रहरीले मात्रै केही गर्न सक्ने कुरा पनि भएन अहिले बागलुङ जिल्लामा दर्जनौँ तीज मेला, महोत्सव चलिरहेका छन् । अहिले कलाकारलाई गित गाउन र नाच्न भ्याइनभ्याई छ । अनि कहाँ बाट ३ बर्ष अघि हत्या भएको रूपा गौतमको बारेमा चासो राख्न समय पनि छैन फुर्सद त हुने कुरा नै भएन । साँच्चै भन्नुपर्दा अहिले रूपा काण्ड बारे छलफल बहस नै हुन छोडी सक्यो भन्दा पनि केही फरक नपर्ला ।
अहिले उठाउन खोजेको कुरामात्र के हो भने रूपा जसरी अरू महिला दिदीबहिनी अनाहकमा मारिन नपुगुन भन्ने नै हो चाडपर्व कसैको लागि दसा सावित नहोस त्यसकारण रूपाको हत्यारा लाई चाडो भन्दा चाडो पत्ता लगाएर कानुनी कारवाही गरिनुपर्छ भन्ने नै हो । यसको सबैले अनुसन्धान गर्न सक्ने सहयोग गर्न जरुरी छ ।
प्रहरी प्रशासनले पनि अहिले कसैले रूपाको हत्यारा खोजेका छैनन् भनेर चुपचाप बस्ने हैन । अनुसन्धानलाई बलियो ढंगले अगाडि बढाउन जरुरी छ । हुन त प्रहरीले पटकपटक पत्रकार भेटघाट कार्यक्रम गरि । रूपाको हत्यारा जो कोहि भए रूपाको हत्यारालाई जसरी भए पनि पत्ता लगाउने कुरा भने गर्दै आएको छ ।
बाहिर बजारमा भने रूपा काण्डमा परिवारबाट सहयोग नभएको भन्ने कुरा पनि सुनिदै आएको छ । हो यो कुरा हो भने पनि परिवारबाट बाहिर बाट सबैले सहयोग गर्न जरुरी छ । हो साँच्चै त्यसलाई बाहिर ल्याउन जरुरी छ । हैन भने यो वा त्यो नाममा जहिल्यै यहाँ अरू रूपाहरूको हत्या हुन सक्ने सम्भावना रहिरन्छ ।
आफुलाई महिला अधिकारकर्मी भन्ने सबैले यसलाई गम्भीर रूपमा लिन जरुरी छ । खाली भाषण र नारा भन्दा वास्तविक रूपमा महिलाको हक अधिकार सुनिश्चित गर्ने भुमिका खेल्न सकेमात्र सार्थक रहने छ ।अहिले आइरहेको हरितालिका तीज सबै महिला दिदीबहिनीको लागि मेलमिलापको चाडपर्व बनोस् । कसैलाई पनि दसा सावित नहोस तीजको शुभकामना ।