३० बैशाख २०८२, मंगलवार

 

देश डुबाउने बाँध भत्काउन एकजुट हुने कहिले ?

राजेशचन्द्र राजभण्डारी
नेपाली काङ्ग्रेसका युवा नेता एवं पुर्ब मन्त्री गगन थापाले भारतले बनाएको अवैधानिक बाँधको कारणले नेपालको तराई क्षेत्र प्रत्येक बर्ष डुबानमा परेको हुँदा सबै एकजुट भएर भत्काउन पहल गर्नुपर्ने बताए । हामीले नदिसंग गरेको व्यवहार चुरेसंग गरेको व्यवहार कै कारणले अहिले हामीले दुख पाइरहेको छौँ।

बागलुङ उद्योग बाणिज्य संघ अन्तरगत महिला उद्ममि बिकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको उद्घाटन गर्दै थापाले उक्त कुरा बताए पछि अहिले राजनीति तंरङ छाएको छ । अहिले सबै ठाउँमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले दिएको अभिब्यक्ति कै चर्चा चलेको छ

हाम्रो छिमेकी भारतले हाम्रो सिमानामा बनाएको बाँधले गर्दा तराई डुबानमा परेको हुदा हामी सबैले एकजुट भएर भारत संग त्यो बाँध भत्काउन माग गर्नु पर्ने कुरा सत्य तथ्य मै आधारित छ । थापाले लोकतान्त्रिक चोकमा बागलुङका बासिन्दासंग भने हामीले भारतसंग आँखा जुधाएर कुरा गर्नुपर्ने जुन तर्क राखे । त्यो एकदमै मनन योग्य छ । अब सबै मिलेर त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

गगनले त्यो अभिब्यक्ति दिएपछि अहिले फरक राजनीति आस्था राख्ने महासयहरूले संसदमा बाँध भत्काउने प्रस्ताव राख्न चुनाती दिएका छन् । अहिले काङ्ग्रेसको सरकार छ । गगन थापा अहिलेका चर्चित युवा नेता मध्यमा पर्छन् । उनले जुन कुरा बागलुङवासी सामु राखे त्यो कुरा भोलि गएर व्यवहारमा लागू गर्न सक्छन् कि सक्दैनन् त्यो त हेर्न बाकी नै छ ।

हामी राष्ट्रियताको सवालमा एक भएर संसदबाटै सिमानामा बनाइएको बाँध भत्काउन भारतसंग आखा जुधाएर कुरा राख्न सक्नुपर्छ अब हामीले यो सवालमा एक हुन नसके प्रत्येक बर्ष डुबानमा परिरहने कुरामा भने दम छ । हुनत आफुलाई राष्ट्रवादी पार्टी भनेर दाबी गर्ने शक्तिहरू समेत अहिले राष्ट्रियताको सवालमा एक हुनुपर्ने अबस्था छ तर हामी काम भन्दा पनि कुरामा बिश्वास गर्छाै ।

अहिले तराई मधेस किन कसरी डुबानमा पर्छ भन्ने कुराको ज्ञान हामीमा हुन जरूरी छ । भारतसंग भएको असमान सन्धि तथा कोशी सम्झौता कै कारणले आज प्रत्येक बर्ष हामी आँफै हाम्रो भूमिमा डुब्न बाध्य भएका छौँ । भारतले हाम्रो सिमाना मा लगाएको बाध कै कारण अहिले तराई मधेस जलमग्न भएको छ । संविधान संशोधनको नारा लगाउने राजपा अहिले कानमा तेल हालेर बसेका छन् । प्रभुको अगाडि दासहरूले एक शब्द बोल्न सक्दैन ।

प्रभुले जे आदेश दिन्छ, त्यो मान्नु भन्दा अर्को कुनै न तर्क छ, न त कुनै मनमा लागेको कुरा समेत अभिव्यक्त गर्न सक्दैनन् । अवस्था यस्तो भएर पनि होला । साँच्चै हामीले हाम्रो देश स्वाधीन छ, स्वतन्त्र छ, कुनै देशको गुलाम भएन भनेर ठुलो भाषण छाँट्छौ । तर हामीले भने अनुसार साँच्चिकै स्वाधीन छ त भनेर छातिमा हात हालेर भन्ने हो भने त्यो अवस्था भने अझैसम्म देखिएको छैन । युवा नेता थापाले भने अनुसार हामी एकजुट हुनलाई कसले छेकेको छ ? रोकेको छ ?

हामी बाहिर देखिन राष्ट्रवादी भएर केही अर्थ राख्दैन मनदेखि राष्टादी हुन जरुरी छ । साँच्चै हामी जतिसुकै दास भए पनि छिमेकी प्रभुले हामीलाई डुबानबाट उतार्न मद्दत गर्दैन भन्ने कुरा स्पष्ट छ । भारतीय परराष्ट्र मन्त्री सुषमा स्वराज नेपाल भ्रमण आउँदा खेरि सरकारले मधेसमा डुबान भएर लाखौं नेपाली जनताको बिचल्ली भएको बारे एक शब्द समेत राख्न सकेको देखिएन । साँच्चै हामी कति सम्म लाचार छौँ । आफ्नै घरमा आएको छिमेकीका सरकारका प्रतिनिधि समक्ष एक शब्द बोल्न सक्दैनौं ।

अनि भारतमा गएर भन्ने कुरा त धेरै टाढाको बिषय भयो । अहिले देशमा पंचायती व्यव्स्था छैन गणतन्त्र छ । देशमा जनताको छोरी राष्ट्रपति भएको अबस्था हो । हामीलाई अझैसम्म देशको व्यवहार गरिदैँन । हामी पनि प्रभुसंग मन्त्री बन्न प्रधानमन्त्री बन्न आशिर्वाद लिन बिरामी भएको बहाना बनाउँदै दिल्ली जान्छौं । प्रभुले भनेको सबै सर्त मान्छौँ । अनि देश फर्कन्छौँ । प्रभुकै इसारा अनुसार चल्छौ हामी प्रभुको दास बन्न तछाडमछाड गर्छाैं । आफ्नै पार्टीको सरकार ढालेर अर्को शिखण्डी सरकार बनाउछौँ।

अवस्था यस्तो भए पछि छिमेकीले हामीलाई नहेपे कसलाई हेप्छ कुरा घामझँै छर्लङ्ग छ । अहिले बर्षा यामले मधेस तराई डुबानमा पर्दा खेरी हामीले राष्ट्रवादको कुरा गर्ने अनि समस्या समाधान भए फेरि चुपचाप बस्ने हाम्रो चलन भएको कारणले पनि हामी आँफै ठगिएका छाँै । हामी अहिले बाढीबाट प्रभावित भएका छौँ । अहिले को राष्ट्रवादी को विदेशी दलाल सवै सवै डुबानबाट पीडित छौँ । कति क्षति भयो भन्ने लेखाजोखा छैन । सरकारले न त बस्ने बासको व्यवस्था गर्न छ न त खाने गासको ।

जनताको यसरी नै चलिरहेको छ दैनिकी । नेपाली को दैनिकी अहिले राहतमा पनि राजनीति चलेको छ । हुनत अहिले भएको तीज महोत्सवमा काङ्ग्रेस युवा नेता गगन लाई ल्याएकोमा पनि धेरै बाट आलोचना गरियो । महिलाको महान चाड तीजमा किन महिला मन्त्री सभासद नल्याईकन पुरूष ल्याउने काम गरियो ? भन्ने प्रश्न उठे । अहिल तराई बाढीबाट प्रभावित भएका बेला, जनता मरेको समयमा किन यहाँ महोत्सव गरेर रमाइलो गर्नुपर्ने भनेर पनि आलोचना भए ।

तर्क को लागि तर्क गर्न जतिपनि सकिन्छ तर नियत राखेर कुरा गर्नु भनेको राजनीति गर्नु हो । हामीले जहाँ पनि राजनीति गर्ने चलनले गर्दा सबै ठाउँमा व्यथिति बढेको हो । बागलुङमा भएको कार्यक्रममा गगन ले दिएको अभिब्यक्ति भने दमदार मान्न सकिन्छ तर त्यसलाई ब्यबहारमा उतार्न जरुरी छ । हामीले कुरामात्र हैन अब साँच्चिकै काम गर्न जरुरी छ । अहिले सम्म भएका असमान सन्धि संझौता खारेजी अवैधानिक रूपमा बनाइएका बाँध कुटनैतिक ढंगले भत्काउने अभियान थाल्न जरुरी छ ।

अहिले जुन कुरा गगनले बागलुङमा आएर बोलेका छन् त्यो कुरा भोलिका दिनमा संसदमा पेश गर्ने सवालमा अडान कायम रहन्छ कि रहँदैन, त्यो आगमी दिनमा थापा होला । अहिलेसम्म भएको बाढीको समीक्षा गरेर सरकारले नयाँ रणनीति बनाउन जरुरी छ । अब सँधै दास बनेर हैन मालिक बनेर हिड्ने हिम्मत गर्न सक्नुपर्छ ।

देशको सवालमा, राष्ट्रियताको सवालमा हामी सबैको एउटै नीति हुन जरुरी छ । तराईमा जाडो बढ्दा पहाडले छेक्नु पर्छ भन्ने नेपाली राष्ट्रिय गित को भावना मर्म अनुसार हामी सबै एकजुट हुन सकेमात्र हामी बलियो हुन्छौं । हामी आँफै डुबानमा पर्ने बाँध बनाउन दिएर हामीले ठूलो बहादुरी गरेको कुरा गर्ने भारतसंग भएको सम्झौतामा हामी ठगिएका छैनौँ भनेर दलाली गर्नु कहाँ सम्मको राष्ट्रवाद हो ? अब भने सबैले बुझ्न जरुरी छ ।

यो बर्षामा भएको क्षतिबाट पाठ सिकेर अब आउने वर्षालाई हामीले रणनीति बनाउन जरुरी छ । नेपाल डुबाउने बाँध भत्काउन कुटनैतिक पहल गर्न जरुरी छ । हैन भने अन्तराष्ट्रिय जनमत जुटाएर भए पनि त्यो बाँध भत्काउने भुमिका सरकार र प्रतिपक्ष सबैले खेल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung