४ कार्तिक २०८३, मंगलवार

 

मैले पढेका पुस्तकहरु 

शिवशरण ज्ञवाली

आग्रहमा लेखिने लेख लेख्न गाह्रो तथापि कोशिश गर्दैछु । प्रश्न दशैं बिदामा कुन पुस्तक पढ्ने भन्ने थियो । म त्यति विधि पुस्तक पढ्न सक्ने मानिस होइन तथापि केही पुस्तक मैले भाद्र महिनामा पढें । ती पुस्तकहरुका बारेमा केही कुरा म यहाँ भन्न चाहन्छु ।  साथीको पुस्तक दराजमा धेरै समयदेखि आनी छोइङ् डोल्माको फूलको आँखामा भन्ने पुस्तक देखिरहेको थिएँ, दुई प्रति । एकदिन अनुमति बेगर नै पुस्तक लिएर हिडें, फर्काउँला भन्दै । तर फर्काउने मन लागेन ।

आफूलाई कसरी सम्हाल्ने अर्थात कसरी नियन्त्रणमा राख्ने र सामाजिक कर्ममा कसरी अगाडि बढ्ने भन्ने कुराको राम्रो प्रस्तुति नेपालीमा अनुदित यो पुस्तकमा गरिएको रहेछ । जीवनको संघर्षलाई कसरी अगाडि बढाउने भन्ने कुराका बारेमा पनि यसमा खुराक पाइन्छ । पढेर भ्याउन लागेका बेला बच्चोले आवरण च्यातिदिए पछि यो किताबले मेरो दराजमा निर्धक्क थन्किने अवसर पायो ।

एकदिन गाउँ घुम्न हिडेको बेला पसलको दराजमा सौरभको असङ्गति भन्ने पुस्तक देखे । फरक धारबाट अनुसन्धानमूलक लेखहरु लेखिरहेका सौरभको असङ्गति किने । उनको ख्याति छिपेको छैन, गैरआख्यानका क्षेत्रमा । सबै लेखहरु पढ्न सकेको छैन । गढिमाइ मेलाका बारेमा लेखिएको लेख निकै रोचक छ । भाषा निकै तिखो छ । अनुसन्धान कति सूक्ष्म छ भने गुल्मीको तम्घासमा साँझको दुध नखाने र बझाङ्को कँडेल गाँउमा (साविकको गाविस)मा साँझको दुध नउमालिकन दही जमाइने कुरा पनि उल्लेख छ ।

गुल्मीको स्थायी बासिन्दा म आफै भएकाले यो कुराका बारेमा बाहिर सोधखोज गरिरहनु परेन, बझाङ्का मित्र हंसबहादुर सार्कीलाई सोध्दा त्यो कुरा पुष्टि गर्नुभयो । त्यसपछि मेरो नजर सुनिता दनुवारको आँसुको शक्तिमा पुग्यो । निकै संघर्षपूर्ण कथाले भरिएको छ, यो पुस्तक । बरु पछिल्ला केही भागहरु भने नपढे पनि फरक पर्दैन तर अघिल्ला भागहरु भने नपढीरहन सकिदैन । यो बीचमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका लक्ष्मी निबन्ध संग्रह र दाडिमको रुखनेर निबन्ध पनि पढ्ने अवसर पाएँ ।

देवकोटाका रचनाको नयाँ विशेषता भेटिएको महसुस भयो । उनी आफ्ना रचनामा विश्वविख्यात मानिसहरुका नामहरु प्रयोग गर्छन् । सुकरात, रवीन्द्रनाथ टैगोर, सान्डो, वाग्नर आदिआदि । यो विषयमा एउटा लेख पनि तयार गरे ।  उल्लिखित पुस्तकहरु भन्दा अगाडि अर्को एउटा पुस्तक पढें, आफ्नै दराजमा थन्किएको मदनमणि दीक्षितको श्रीःशास्वत नारी । वैदिक रचनातर्फ चासो राख्ने मानिसहरुका लागि यो पुस्तक उपयोगी हुनसक्छ । डा. शास्त्रदत्त पन्तको सङ्क्रमणकालिन समाज र विकास शीर्षकको सानो पुस्तिका हातमा परेको छ ।

त्यसमा नेपाली समाजको अहिलेको अवस्थाको विश्लेषणसहित चेतनाको हिसाबले हामी नेपाली कुन तहमा छौं भन्ने कुरालाई रोचक पाराले प्रस्तुत गरिएको छ । गुरु घनश्याम कँडेलको धृतराष्ट्र खण्डकाव्यले यस वर्षको मदन पुरस्कार प्राप्त ग¥यो । यो बिचमा यो पुस्तक पनि पढे । खासमा यो पुस्तक मैले हेलेन केलरका बारेमा कही लेखिएको छ कि भन्ने उद्देश्यले किनेको थिएँ ।

यसमा गुरुले विश्वविद्यालयमा काम गर्दाका कटु अनुभवले यो कृति लेख्न प्रेरित ग¥यो भन्नुभएको छ, काव्यको सार पनि त्यही कटु अनुभवमै रहेको होला । यसमा धेरै नभनौं, काव्य भएकाले ।   दशैं बिदाका लागि मसँग एउटा मात्रै पुस्तक छ, नरेन्द्रराज प्रसाईंको देवकोटाको जीवनशैली भन्ने ।

तर एक महिना लामो बिदामा भने मेकाले शिक्षाभन्दा भिन्न पौरस्त्य शिक्षा र संस्कृतको ज्ञान बासँगबाट लिने सोचाइमा छु । हेरौं त्यसमा कति सफल भइन्छ । विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung