४ श्रावण २०८३, सोमबार

 

जब नेपाली खेलाडी खाली खुट्टै लिग खेल्न मैदानमा उत्रिए

बि.सं. १९९५ मा भएको अनधिकृत लिग फुटबल झगडाका कारण बिथोलिएपछि नर शमशेर राणालगायत त्यति बेला फुटबलमा सक्रिय सबैजना चिन्तित थिए। उनीहरुलाई पुनः लिग फुटबल सञ्चालन गर्न ६ वर्ष लाग्यो।

१९९५ मा नर शमशेरको अगुवाइमा पाटनमा अनधिकृत लिग फुटबल आयोजना हुँदा जावलाखेल र ठमेलबीच एउटा खेल भएको थियो। जुन खेलमा जावलाखेलबाट खेलिरहेका नर शमशेरको झगडा परेछ, ठमेलका गजबमानसँग। नर शमशेरको एउटा बानी थियो। मैदानमा उत्रिएपछि खेल जित्नै पर्ने। ठमेल विरुद्धको खेल उनी जसरी पनि जित्न चाहन्थे। यही क्रममा नर शमशेरको झगडा परेछ, बेलायती दुतावासमा काम गर्ने र ठमेलबाट फुटबल खेल्ने गरेका गजबमानसँग। त्यो झगडाले त्यति बेला यति ठूलो हंगामा भयो। मैदानमा भएको सामान्य झगडा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाको मन्त्रीमण्डलसम्म पुग्यो।

यो घटनाबाट त्रृद्ध भएका जुद्धले तत्कालै लिग फुटबल रोक्न आदेश दिए। त्यति बेला शासनको बागडोर सम्हालेका राणाहरुको तर्क थियो, ‘राणाहरु शाषन चलाउने वर्ग हो। उसले जनतासँग झगडा गर्न हुन्न।’ प्रधानमन्त्री जुद्धका छोरा मीन शमशेर र रवि शमशेर पनि फुटबलका सौखिन खेलाडी थिए। यसैले उनीहरुलाई आफ्नो बाबुले लिग फुटबल रोक्न दिएको आदेश मन परेको थिएन्। त्यति बेला जुद्धको अगाडि बोल्ने हिम्मत राख्ने कसले!

तर पनि यी दुई भाइले आफ्नो अभियान जारी राखे। उनीहरुले आफ्नो बाबुलाई अनेक कुराले प्रभावित तुल्याउन खोज्थे। ६ वर्षको अन्तरालपछि उनीहरु आफ्नो अभियानमा सफल भए। र, जुद्धले वि.सं. २००१ मा लिग फुटबल सञ्चालन गर्ने अनुमति दिए। तर, एउटा सर्तसहित। त्यो सर्त थियो, लिग फुटबल अन्य ठाउँमा नभई सिंहदरबारभित्र गराउनु पर्ने।

६ वर्षपछि लिग फुटबल पुनः सुचारु हुँदा खेल्ने टोलीको अत्तोपत्तो थिएन। डिल्लीबजारको महावीर क्लब केही सक्रिय थियो। ठमेलको हालत पनि उस्तै। तर पनि छोटो अवधिमा क्लबहरु लिग फुटबल खेल्न जुटे। यति बेला महावीर र ठमेलसँगै जावलाखेल, योङ फुटबल संघ (वाइएफए), सिंहदरबार क्लब, सिंहमहल टिम, इन्स्टिच्युट–११ र गुर्खा–११ क्लब अस्तित्वमा देखिए।

१९९५ मा सहभागी टोलीमध्ये सिंहमहल टिम, वाइएफए, गुर्खा टोली एकदमै नयाँ क्लबका रुपमा देखा परेका थिए। नर शमशेरले आफ्नो सक्रियतामा छुट्टै गुर्खा–११ टोली निमार्ण गरेका थिए। यसअघि उनी जावलाखेलमा आवद्ध थिए। उनले डिल्लीबजार र न्युरोडवरिपरिका राम्रा खेलाडी छानेर गुर्खा–११ टोली स्थापना गरेका थिए।

सिंहदरबार क्लब मीन र रवीको अगुवाइमा स्थापना भएको थियो। यो क्लबमा इन्द्र शमशेर, लोक विक्रम शाह, सुरेन्द्र शमशेरजस्ता दिग्गज खेलाडी समावेश थिए।

यस्तै, इन्स्टिच्युट–११ मा त्यति बेला त्रिचन्द्र कलेजमा अध्ययन गर्ने खेलाडीको जमात थियो। ठमेललाई साम्राज्य शमशेरले तयार पारेका थिए। त्यो टोलीमा मुरारी शमशेरजस्ता खेलाडी आवद्ध थिए।

सिंहमहल टिममा अर्जुनशमशेर, तेजजंग थापा (पूर्व आर्मी चिफ प्यारजंग थापाका बुवा) जस्ता खेलाडी थिए। यो टोली बालुवाटारस्थित राष्ट्र बैकअगाडि पार्किङ गर्ने स्थानमा अभ्यास गथ्र्यो।

वाइएफए टोलीमा हिमालय शमशेर, मणिराज उपाध्याय, शिवविक्रम राणा, मदन ‘बेबी अस्टिन’, रामराजध्वज जोशी, ध्रुवराजध्वज जोशी, बद्री भण्डारी, माणिक, पूर्णे, बटुक, शशिविक्रम, गुण शमशेर थापालगायतका खेलाडी थिए। क्लबको स्थापना हिमालय शमशेर स्वयंले गरेका थिए। उनले त्यतिबेला लिगमा समावेश नभएको न्युरोड टिममा आबद्ध खेलाडीलाई भेला पारेर टोली निमार्ण गरेका थिए। यो एउटै लिग खेलेपछि क्लब पूर्ण निस्क्रिय भयो।

‘काका द्रोण शमशेर, भीष्म शमशेर र मृप शमशेरले हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो। र, टिम फर्मेसन पनि गराइदिनुहुन्थ्यो,’ ७३ वर्ष अगाडिको कुरा सम्झन्छन्, नेपालका पहिलो राष्ट्र बैकका गर्भनर हिमालय शमशेर । २००१ सालको अनाधिकृत लिगको उपाधि नरशमशेरको गुर्खा–११ टोलीले जितेको थियो। १९९५ मा लिग जित्ने अभियान पूरा नभएपनि नर शमशेरको कडा प्रयासपछि उनको टोली अनधिकृत लिग जित्न सफल भयो।

‘नरशमशेर मैदानमा उत्रिएपछि उनलाई कुनै पनि हालता जित्नैपर्ने बानी थियो। उनी आफ्नो टोली तयार गर्दा राम्रा खेलाडीको खोजी गर्थे,’ विद्या व्यायामका पूर्व खेलाडी दिलेन्द्रवीर पाण्डे सम्झन्छन्। २००१ सालको अनधिकृत लिग फुटबलमा पहिलेजस्तो झगडा हुन पाएन। लिगका सम्पूर्ण खेल सिंहदरबारभित्र भएका कारण निकै अनुशासित भयो।

खेल सञ्चालन भएको बेला सर्वसाधारणका लागि डेढ घन्टा सिंहदरबारको गेट खुला गर्ने गरिन्थ्यो। त्यति बेला प्रत्येक खेल १ घन्टाको हुन्थ्यो। सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिएका थिए। ‘सबै खेलाडीसँग जुत्ता हुने कुरा भएन। त्यति बेला जुत्ता लगाएर खेल्नुपर्छ भन्ने पनि थिएन। त्यसैले हामीले खाली खुट्टै खेल्यौं,’ हिमालय शमशेर सम्झन्छन्। त्यति बेलाको फुटबल अहिले जस्तो थिएन। पहिले ब्लाडरमा हावा भरेर बाहिरबाट छालाले बेरेर तुना बाँध्नुपथ्र्यो। लिगमा रेफ्रीको भूमिका महेन्द्रविक्रम शाह (नीर शाहका काका) ले निभाएका थिए। उनले कोलकातामै पढ्दा फुटबलसम्बन्धी ज्ञानआर्जन गरेका थिए।

लामो मेहनतपछि अनधिकृत लिग जितेका नर शमशेरले उपाधि जितेवापत ठूलो भोजको आयोजना गरेका थिए। यसअघि पनि लिग आयोजना नहुँदा उनकै सक्रियतामा कहिले सिंहदरबार त कहिले लक्ष्मी निवास, कहिले सिंहमहल त कहिले बबरमहलमा मैत्रीपूर्ण फुटबलको आयोजना हुन्थ्यो। र, खेल सकिएपछि मैत्रीपूर्ण खेल भएको राणाहरुको महलमा भोज ख्वाउने चलन थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung