बागलुङ सदरमुकाममा आगामी माघ दोस्रो साता प्रदेश नम्बर ४ स्तरिय मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामा पहिलो पटक बागलुङ नगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता आकर्षक पुरस्कार राशि सहित आगामी माघ १६ गतेदेखी २१ गतेसम्म सञ्चालन हुनेछ ।
शहिद दिवसका अवसर पारेर सञ्चालन गरिने मेयर कपमा प्रदेश नम्बर ४ का १२ भन्दा बढी नगरपालिकाका टिम सहभागी हुने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । ‘यो प्रथम नगर परिषदबाट बजेट विनियोजन गरेर पहिलो पटक शुरुवात गर्न लागिएको हो,’ उनले भने, ‘खेलकुदको विकास, विस्तार तथा खेल पर्यटन प्रर्वद्धनका लागि टेवा पुग्ने हिसाबले प्रतियोगिता सञ्चालन हुनेछ ।’
खेल पर्यटनको विकासका लागि मेयर कप फुटबल बागलुङ नगरपालिकाको बाङ्गेचौर खेलमैदानका साथै होम स्टे सहितको पर्यटकीय गाउँ भकुण्डेमा पनि केही खेल खेलाइने मेयर पौडेलले बताए । बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले नगरको खेल क्षेत्रको विकासका लागि नयाँ सोचका साथ आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह गरे ।
जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा हुने प्रतियोगितामा मेयर कप विजेता समूहले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेता समूहले नदग १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिनेछ भने बिभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
उत्कृष्ट गोल रक्षक, रक्षापंक्ति, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ५ हजार सहित पुरस्कृत गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बतए । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गरेका थिए ।













































































































































































































