म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शनिबारदेखि अन्तर मावि जिल्ला स्तरीय १६ औँ जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबीच हुने सो प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता माउण्ट एभरेष्ट आवासीय माविले विजयी सुरुवात गरेको छ ।
भिम मावि राजदाङलाई १ का विरुद्ध ४ गोल गर्दै माउण्टले विजयी यात्रा सुरु गरेको हो । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिए ।
बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक वर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठले उद्घाटन गरेका हुन । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगिता सञ्चालनको लागि यस वर्ष करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।
प्रतियोगिताको अवसरमा चौथो जेसीजकप फुटबलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय युवा क्लवहरुबाट विगतमा जेसीज कपमा सहभागीता जनाएकै व्यक्तिहरुलाई अफिसियलको रुपमा परिचालन गरिएको छ ।













































































































































































































