म्याग्दीको बेनीमा सम्पन्न अन्तर मावि जिल्ला स्तरीय १६ औ जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि च्यापीयन बनेको छ ।
म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध तिन गोल गर्दै वेष्ट पोईन्टले उपाधी जितेको हो । माउण्ट एभरेष्टले यसअघि लगातार चार पटक जेसीजकप जितेको थियो भने ।
यसअघि १० पटक सम्म फाइनलमा पुग्दा ९ पटक उपबिजेतामा चित्त बुझाउन बाध्य वेष्ट पोईन्टले दोस्रो पटक जेसीजकप जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई कप, मेडल र प्रमाणपत्र सहित नगद ३४ हजार र १७ हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।
प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जेसीजका अध्यक्ष नारायणकुमार बराल, संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने जेसीजकप म्याग्दीको विद्यालय स्तरमा लोकप्रिय प्रतियोगिता मानिन्छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा १२ विद्यालयले सहभागीता जनाएका थिए ।
वेष्ट पोईन्टका किस्मत पुनले उत्कृष्ट खेलाडी, महेश पुन सर्वाधिक गोलकर्ता, सञ्जन बोहोर उत्कृष्ट गोलरक्षक, माउन्टका सज्जन सापकोटा उत्कृष्ट डिफेन्डर, वेष्ट पोईन्टका महेश पुन उत्कृष्ट स्टाईकर, माउन्टका भुवन घर्ती उत्कृष्ट मिडफिल्डर, वेष्ट पोईन्टका टिपेन पुन राईजिङ प्लेयर, वेष्ट पोईन्टका खेल शिक्षक दिपेन राई उत्कृष्ट कोच र वुद्ध एकेडेमीले अनुशासीत टिमको उपाधी प्राप्त गरेका छन् ।
उनिहरुलाई नगद एक हजार पाँच सय रुपैयाका दरले पुरस्कृत गरिएको थियो । सन्तोष स्मृती कोष प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो । फाईनल खेल हुनअघि चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई प्रतिनिसभा सदस्य थापा र प्रदेशसभा सदस्य बिनोद केसीले सम्मान गर्नुभएको थियो ।













































































































































































































