बागलुङ महोत्सव २०७४ चर्चा परिचर्चा बिच सम्पन्न भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको पाँचौ बागलुङ महोत्सवले अहिले पुस महिनाको ठण्डीमा पनि सारा बागलुङवासीलाई तताउन सफल भयो यसलाई सकारात्मक पाटोको रूपमा हेर्न जरुरी छ । अहिले सबैभन्दा बढी चर्चा र चासोको विषय भनेको महोत्सवमा वितरण गरिएको प्रवेश पास कै भयो । जसले पनि आफुले पास नपाएको फलनाले पायो भनेको मात्रै सुन्नु प¥यो । बागलुङ महोत्सव २०७४ कसरी सफलता पुर्वक सम्पन्न गर्ने भन्ने भन्दा पनि भित्र प्रवेश गर्ने पास कै चिन्ताले एक थरी बागलुङवासीलाई सताएको देखियो ।
बागलुङ बजारमा सात पुस्तालाई पास वितरण भएको हल्ला चलिरहदा नेपाल पत्रकार महासंघका साथीहरू लाई महोत्सवको टिकट बेच्न भ्याइनभ्याई छ । अहिले बागलुङ महोत्सवमा वितरण गरिएको पास कै विषयमा केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने मलाई पनि लाग्यो म पनि बागलुङ महोत्सव २०७४ को प्रचारप्रसार उप–समितिको संयोजक बागलुङ उद्योग वाणिज्य संघको प्रेस सल्लाहकार भएको नाताले पनि अहिले बजारमा छरिएको भ्रमबारे स्पष्ट पार्नुपर्ने दायित्व पनि हो । अहिले बागलुङ बजारमा गरिएको हल्ला सामाजिक संजाल फेसबुक र केहि संचार माध्यममा आए जस्तो बागलुङ महोत्सव २०७४ मा सात पुस्तालाई पुग्ने गरेर पास वितरण भएको हो त अवश्य पनि हैन ।
बागलुङ उद्योग वाणिज्य संघको आजिवन सदस्य छन्, साधारण सदस्य छन् बागलुङ महोत्सव सफल पार्न लाखौं रूपैयाँ सहयोग गर्ने संघसंस्था व्यवसायी व्यापारीले सहयोग दिए वापत उनीहरूले प्रवेश पास पाएको अवश्य हो । यो कुरामा कुनै दुई मत छैन । बागलुङ उद्योग वाणिज्य संघले महोत्सव अवधिभरलाई भनेर रू १ हजार रूपैयाँ लिएर पास बनाइ दिएको छ । आफ्नो सदस्यहरू लाई सदस्यता नविकरण गर्दा महोत्सव सहयोग रू दुई सय लिएर पास बनाउने काम खुलेआम माइकिङ गरेर गरेको विषय हो ।
जहाँसम्म केही पास वितरण गरिए त्यो धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव सम्पन्न गर्नका लागि पनि वितरण गरिएको पास हुन विगत समयमा भएको बागलुङ महोत्सवमा भन्दा यसपटक अझै कम मात्रै पास वितरण भएको छ । जुन बजारमा भएको हल्ला जस्तो भने अवश्य हैन । अहिले क्याम्पस पढ्ने विद्यार्थी कम भएको कारणले पनि प्रवेश पास कम नै गएको हो पासलाई व्यवस्थित गर्नको लागि स्ववियुलाई जिम्मेवारी दिएको कारणले पनि बजारमा हल्ला भए जस्तो भने मनपरि ढंगले पास वितरण भएको आरोप मात्रै हो । अहिले जे जति महानुभावले सामाजिक संजालमा महोत्सवको बारेमा चिन्ता व्यक्त गर्नु भएको छ ।
यसलाई साच्चै भित्री मनदेखि सकारात्मक रूपमा लिनुपर्छ तर कुरा अहिले पास वितरण गर्दा आफुले नपाएकोमा मात्रै चिन्ता हो भन्ने कुरा स्पष्ट छ । अहिले गाउँ घरका गरिब निमुखा जनतालाई मात्रै टिकट विक्री गर्न लगाईयो भन्ने कुरामा पनि त्यति दम छ जस्तो लाग्दैन मेला महोत्सव सम्पन्न आर्थिकले काम गरेको हुन्छ धेरै ठाउँबाट सहयोग जुटाएर मात्रै एउटा महोत्स वसम्पन्न गर्न सकिन्छ । साच्चै भन्ने हो भने बागलुङ उद्योग वाणिज्य संघले एक वर्ष अगाडिदेखि बागलुङ महोत्सव गर्ने भनेर लागि परेपछि मात्रै अहिले पुस १४ गतेदेखि २३ गतेसम्म १० दिने महोत्सव सफल भएको हो ।
२ दर्जन भन्दा बढी विभिन्न उप–समिति गठन गरेर सबैले आ–आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गरेपछि अहिले साच्चै भन्ने हो भने बागलुङ महोत्सव सफता रूपमा सम्पन्न भएको हो । धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा विभिन्न व्यवसायिक स्टल १ सय ८२ वटा राखेर महोत्सव भित्र टिकट काटेर छिर्ने दर्शकले आफुलाई चाहिने सामाग्री खरिद गर्ने अवसर पनि आयोजकले जुटाउने काम गरे सकारात्मक मान्न सकिन्छ । बागलुङ उद्योग वाणिज्य संघले बागलुङमा पहिलोपटक पुस महिनाको ठण्डी मौसममा महोत्सव गर्ने जुन साहस गर्यो यसलाई एउटा प्रयोगको रूपमा लिइएको थियो तर केही कमिकमजोरीका बाबजुद पाँचौ बागलुङ महोत्सव सफल भएको छ भनेर निर्धक्कसंग भन्न सकिन्छ ।
अहिले बागलुङ महोत्सवको विरोध गर्नेहरूको प्रमुख नारा भनेको सात पुस्तालाई पुग्ने पास ठुला बडा भएका सबैले पास नै पास घाटीमा भिरेर छिरे भन्ने कुरा चाहिँ पूर्वा ग्रह पुर्ण नै छ । बागलुङ जिल्ला क्षेत्र नम्बर १ का माननीय सांसद डाक्टर सुर्य पाठक स्वयं नेपाल पत्रकार महासंघले विक्री वितरण गर्ने जिम्मेवार लिएको टिकट काउण्टरमा लाइनमा बसेर ६० रूपैयाको टिकट काटेर महोत्सवमा प्रवेश गरेको कुरालाई किन सकारात्मक रूपमा लिन सकेनन् बागलुङबासीले ? के सांसद भन्ने नचिनेर हो त टिकट बेचेको पत्रकारले ? आयोजकलाई पनि थाहा थियोे तर पनि बागलुङ महोत्सव को अवलोकन डाक्टर पाठकले टिकट काटेर नै गर्नुलाई सकारात्मक रूपमा हेर्न जरुरी छ । अहिले मनपरि ढंगले पास बाँडेको आफ्नो नाता गोता गलफ्रेनलाई पास दिएको भन्ने हल्ला मात्रै हल्ला हो ।
बागलुङ महोत्सव २०७४ सफल बनाउन बागलुङ क्षेत्र नम्बर २ का सांसद देबेन्द्र पौडेल र पूर्व सांसद बलावती शर्माले पनि टिकट काटेर नै महोत्सव सफल बनाउने भुमिका खेले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको जमानामा आर्दशको कुराले सबै कुरा चल्दैन महोत्सव सम्पन्न गर्न पैसा चाहिन्छ । निशुल्क महोत्सव गरेर सबैलाई फ्रि प्रवेश गराउन सके धेरै राम्रो हुने थियो । महोत्सव गर्न लाग्ने खर्च सबै सरकारले जिम्मेवारी लिएर सहयोग गरे सुनमा सुगन्ध हुने थियो । तर त्यो संभव छैन आयोजकले सबै कुराको हिसाब किताब गरेर एउटा अभियान चलाएको हो । कलाकार ल्याउनदेखि कार्यक्रम सबै सम्पन्न गर्न सजिलो अवश्य छैन प्रहरी प्रशासन नागरिक समाज व्यवसायी पत्रकार विद्यार्थीदेखि सबै तह र तप्काको सहयोगले नै बागलुङ महोत्सव सम्पन्न भएको छ ।
अहिले भएको राम्रो पक्षलाई राम्रो मान्नुपर्छ अहिले केही कमिकमजोरी छन् भने त्यसलाई सच्याउन जरुरी छ । हामीले आलोचना गर्दा सकारात्मक सोच राखेर गर्ने गरेमा अवश्य पनि राम्रो नतिजा निस्कने छ । अहिले भएको महोत्सवको आम्दानी खर्चको सबै हिसाब किताब केही समय भित्र सार्वजनिक हुनेछ । अहिले महोत्सवबाट भएको आम्दानीले बागलुङ नगर क्षेत्रमा सामाजिक कामको लागि खर्च गरिनेछ । हिजो बागलुङ महोत्सवबाट बचेको पैसाले बागलुङ नगरपालिकासंग सहकार्य गरि बागलुङ बजार भित्र सिसि क्यामरा जडान गरेको कुरालाई पनि यतिबेला सम्झनु पर्छ अहिले नेपाल पत्रकार महासंघसँग सहकार्य गरेको बागलुङ उद्योग वाणिज्य संघले बागलुङ जेसिजसँग सहकार्य गरेर टिकट विक्रीबाट जेसिजको भवनको लागि सहयोग गरेको कुरालाई पनि सम्झनु राम्रो हुन्छ ।
हो पास दुरुपयोग हुनुहुन्न भन्ने कुरालाई सकारात्मक मान्नुपर्छ तर आफुले पाए सबै ठिक नपाए सबै बेठीक भन्ने नारा गाउँले बजारिया भन्ने गलत नारा लगाउन छोड्नु पर्छ । साच्चै बागलुङ जिल्लाको इज्जत बागलुङ कै मान्छेहरूले राख्ने हो के गर्दा हाम्रो इज्जत बढ्छ के गर्दा घट्छ त्यो कुराको ख्याल गर्न जरुरी छ । सात पुस्तालाई पास वितरण गर्दा पनि हजारौं टिकट विक्रीवितरण हुनुलाई सकारात्मक रूपमा हेर्ने कि ?

































































































































































































