२७ भाद्र २०८३, शनिबार

 

पर्वतमा क्यानोनिङ खेल शुरु

पर्वतको कुश्मा नगरपालिका ३ मा दुर्लुङस्थित महभिर खोलामा क्यानोनिङ (छाँगावरोहण) खेल शुरु भएको छ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल शुरु भएको हो । बर्षका सबै ‘सिजन’ मा एकैनास पानीको बहाव रहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले बताए । उक्त खोलामा अन्य साहसिक खेलहरु हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै क्यानोनिङ पनि धौलागिरी अंचलमा नै पहिलो पटक संचालन गरिएको संचालक उद्धिमबहादुर गुरुङ्गले जानकारी दिए । क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको छ सञ्चालक–गुरुङले भने, ‘यसको परिक्षण निकै सफल भएकाले यसै सातादेखि नियमितरुपमा सञ्चालनमा आउँछ ।’
सदरमुकाम कुश्माबाट करीब ७ किलोमिटर टाढा रहेको उक्त ठाउँमा क्यानोनिङसंगै स्थानीय चनौटे गाउँमा होमस्टे संचालन पनि एकैसाथ गर्ने तयारी भैरहेको छ । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ । एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीसमेत भइरहेको स्थानीयवासी राजन गुरुङले जानकारी दिनुभयो ।
नेपालका लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत देशका २० भन्दा बढी जिल्लाका झरनाहरुमा हाल क्यानोनिङ संचालन हुँदै आएका छन । धौलागिरि अञ्चलमा पहिलोपटक उक्त क्यानोनिङको सञ्चालन भएको सञ्चालक गोलमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वत हुँदै हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपूर्ण तथा धौलागिरि जाने पर्यटकलाई पनि उक्त क्यानोनिङसम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउने गरी तयारी भइरहेको समेत गुरुङले जानकारी दिनुभयो ।
अहिलेसम्म नेपालमा वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब १० हजारले क्यानोनिङ गर्दै आएकामा यो झरनामा पनि वार्षिक एक हजारसम्म पर्यटकलाई भित्राउन सकिने सञ्चालक समितिको विश्वास रहेको छ । क्यानोनिङ सञ्चालनका लागि टानसँग समन्वयसमेत भइरहेको बताइएको छ । क्यानोनिङ सञ्चालनका लागि स्थानीय साझेदार संस्थासँगसमेत समन्वय गरेर अघि बढिने भएको छ । यस क्षेत्रमै पहिलोपटक नमूनाका रुपमा सञ्चालन गर्न लागिएको क्यानोनिङका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने, स्थानीय होमस्टे सञ्चालकको व्यवसाय प्रवद्र्धन हुने र केही मात्रामा रोजगारीसमेत सिर्जना हुने एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष गोलमान गुरुङले जानकारी दिए । अहिले परीक्षणका क्रममा सहभागी आन्तरिक तथा बाह्य पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको बताएका छन् ।
जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि यस क्यानोनिङको महत्वपूर्ण योगदान रहने उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आउने जोसुकै पर्यटकसमेत नियमित क्यानोनिङ सञ्चालनपछि यहाँ पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung